जसपाद्वारा सत्तारुढ दलसँग मित्रवत् प्रतिस्पर्धा र अरु दलसँग मिल्ने निर्णय

जनता समाजवादी पार्टी (जसपा) ले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँगै मित्रवत् प्रतिस्पर्धा तथा अरु दलहरूसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ ।
जसपाको शनिबार बसेको केन्द्रीय कार्यकारिणीको बैठकले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नदेखिएको निष्कर्ष निकालेको छ । जसपाका प्रवक्ता मनीषकुमार सुमनले एक विज्ञप्ति जारी गर्दै पार्टी एक्लै चुनावमा जानेसम्मका निर्णय गरिएको जानकारी दिएका छन् ।
’हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद् र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको बाँडफाँट सम्बन्धी छलफलमा हाम्रो पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको,’ जसपाको बैठकको निर्णयमा भनिएको छ, ’यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिनेछ । सो पनि हुन नसकेको अवस्थामा जसपा, नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’
सत्तारुढ गठबन्धनका दलहरूले जसपालाई मागेजति सिट दिन नसक्ने भनेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव पछिल्लो समय असन्तुष्ट थिए । यसैबीच उनले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएर यस्तो निर्णय लिएका हुन् । स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच सहमति हुन नसकेको क्षेत्रमा प्रतिस्पर्धा भएको थियो ।






