चिनियाँ रास्ट्रपति जिनपिङको तेस्रो कार्यकाल र नेपाल-चीन सम्बन्धका सम्भावित जोखिम

चीन,
भर्खरै, सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पार्टी महासचिव छनोट गरेको छ । सन् २०१२ मा उनी पहिलोपटक महासचिव भएका थिए । त्यतिखेर देङ स्याओ पिङ कालमा स्थापित ‘दुई कार्यकाल’ को प्रचलन र संवैधानिक व्यवस्था कायमै थियो । सी अघिका दुई महासचिव झाओ झमिन र हु जिन्ताओले त्यसको पालना गरेका थिए । शक्तिशाली र लोकपि्रय छँदाछँदै शान्तिपूर्ण सत्ता हस्तान्तरण गरेका थिए ।
तर, राष्ट्रपति सी जिनपिङमा देखिएको तीव्र महत्वाकांक्षा, सफलताको अहं र सत्ता संकेन्द्रणको चरित्रले ‘दुई कार्यकाल’ को प्रचलन र संवैधानिक व्यवस्था पालना गर्दैनन् भन्ने प्रष्टै थियो । राष्ट्रपति सीको सहजताका लागि केही वर्षअघि नै संविधान संशोधन गरी त्यो प्रचलन हटाइएको थियो । संविधान संशोधन उनकै लागि गरिएको हो भन्ने त्यतिखेर देखिकै चर्चा अन्ततः सही सावित भएको छ । तर यहाँनेर अझै अर्को प्रश्न अनुत्तरित छ । राष्ट्रपति सी तेस्रो कार्यकालका लागि मात्रै सत्तामा आएका हुन् वा आजीवन सत्तामा बस्ने आकांक्षा राख्दछन् ? चिनियाँ कम्युनिस्ट पार्टीमा तेङ स्याओ पिङ अघिका नेता माओ त्से तुङ आजीवन पार्टी सत्तामा बसेका थिए । राष्ट्रपति सी माओ झैं आजीवन सत्तामा नबस्लान् भन्न सकिन्न ।
यसरी माओको निधन भएको करिब चार दशकपछि चीनमा अर्का निष्कन्टक कम्युनिस्ट शासकको उदय भएको देखिन्छ । चीनमा मात्रै हैन, एकदलीय र कम्युनिस्ट शासन प्रणाली भएका धेरै देशमा यस्ता उदाहरण थुप्रै पाइन्छन् । सोभियत संघका स्टालिन र ब्रेझनेभ, युगोस्लाभियाका मार्सल टिटो, क्युवाका फिडेल क्यात्रो, जिम्बाबेका रबर्ट मुगाबे आदि यस्ता उदाहरण हुन् । एक पार्टी राज्य प्रणाली’ भएका देशमा पार्टी र राज्य बीचको सीमारेखा छुट्याउन सजिलो हुँदैन । कहाँसम्मको विधिविधान र प्रक्रिया ‘पार्टी’ हो र कहाँनेरबाट ‘राज्य’ सुरुवात हुन्छ भन्ने कुनै गतिलो विभाजक हुँदैन । पार्टी र राज्य बीच शक्तिपृथकीकरण हुँदैन । पार्टी नै राज्य र राज्य नै पार्टीको अवस्था क्रियाशील हुन्छ । चिनियाँ प्रचलन र संवैधानिक व्यवस्थामा पार्टी महासचिव नै राष्ट्रपति हुन्छन् । दोस्रो वरीयताको स्थायी समिति सदस्य प्रधानमन्त्री हुन्छ । भलै कि, जनकंग्रेसले त्यसको अनुमोदन गर्नुपर्दछ, जो अनुमोदन हुने निश्चित जस्तै हुन्छ ।
राष्ट्रपति सीको तेस्रो कार्यकालले चिनियाँ कम्युनिस्ट पार्टीको उमेर हदसम्बन्धी प्रचलन पनि समाप्त गरिदिएको छ । सामान्यतया ६८ वर्षपछि त्यहाँ पार्टी र राज्यका पदमा नदोहोरिने प्रचलन थियो । चीन विश्व राजनीतिमा सबैजसो युगमा एक फरक मान्यता र संस्कृति भएको राज्य थियो । आज पनि यो विश्व राजनीतिको मूलप्रवाहभन्दा फरक धारमा छ ।
त्यसो त कम्युनिस्ट विचारधारा र एकदलीय राज्य प्रणाली चीनको आफ्नै मौलिकता भने हैन । सन् १९१७ को अक्टोबर क्रान्तिपछि लेनिनवादी रूसले प्रारम्भ गरेको सोभियत प्रणालीलाई सन् १९४९ को नयाँ जनवादी क्रान्तिपछि माओले चीनमा प्रयोगमा ल्याएका थिए । सोभियत संघ आफैं पतन भएको करिब तीन दशकपछि पनि चीनमा भने त्यो प्रणाली कसरी झनै मजबूत हुँदैछ ? यो आफैंमा एक विचारणीय र अनौठो परिदृश्य हो । चीनको प्रामाणिक इतिहास करिब ४ हजार वर्ष लामो छ । इसापूर्व २०७० बाट चिनियाँ भूभागमा प्रामाणिक मानव सभ्यता र राज्य देखा पर्न थालेका थिए ।
चीन एक राष्ट्र मात्र हैन, विशाल भूभाग, व्यापक वैचारिक भावधारा, आफैंमा एक महाद्विपीय चरित्र भएको राज्य र महासभ्यता पनि हो । कन्फुसियस र ताओवाद चिनियाँ चिन्तन पद्धतिका आधारशिला थिए ।
आधुनिक र पुरानो चीन बीचको समयरेखा भने सन् १९११ को क्रान्तिलाई मानिन्छ । सन् १९११ को क्रान्ति अघि चीनमा राजतन्त्रात्मक शासन व्यवस्था थियो । सन् १६४४ मा स्थापित मन्चु राजवंशलाई सन् १९११ को गणतन्त्रात्मक क्रान्तिले विस्थापित गर्यो ।
इसापूर्व २०६ मा हान लडाका लिउ वाङले किन वंशलाई पराजित गरी आफूलाई चीनको सम्राट घोषणा गरेका थिए । हान वंशको एकछत्र राज सन् २२० सम्म चल्यो । विभिन्न राजवंशहरू उत्थान र पतन हुँदै गए । सन् १६४४ मा स्थापित मन्चु राजवंश अन्तिम राजवंश सावित भयो, जसलाई डा. सन यात सेन नेतृत्वको गणतन्त्रात्मक क्रान्तिले समाप्त गरिदियो ।
चिनियाँ सभ्यता र चरित्रको कुरा गर्दा हान जातिलाई बिर्सन मिल्दैन । प्राचीन चीनमा थुप्रै प्रकारका वंश, गोत्र, गण र कविलाहरू थिए तर, यिनीहरू बीचको संघर्ष, सम्मिलन र अन्तर्घुलन प्रक्रियाबाट चीन प्रकारान्तरले हान जातिको महासाम्राज्य जस्तो बन्न पुग्यो । हाल चीनमा ९२ प्रतिशत हान जातिका मानिस छन् । हान-समकालीन विश्वकै सबैभन्दा ठूलो जातीय समुदाय हो ।
यो जातिले विश्व जनसंख्याको १८ प्रतिशत हिस्सा ओगट्छ । चीनका अतिरिक्त यो जाति ताइवानमा ९७ प्रतिशत, सिंगापुरमा ७५ प्रतिशत, हङकङमा ९२ प्रतिशत र मकाउमा ८८ प्रतिशत छ । साथै, इन्डोनेशिया, मलेसिया, थाइल्याण्ड, लाओस, भियतनाम, म्यानमारमा उल्लेख्य संख्यामा छ । पछिल्लो समय क्यानाडा, युरोप, अमेरिका, अष्ट्रेलियातिर समेत फैलिंदैछ ।






