मन्त्री सुनीता यादवमाथि रकमान्तर गरेर सञ्चालन गरिएको सबै योजनामा १० प्रतिशत कमिशन लिएर वितरण गरेको आरोप: अख्तियारले थाल्यो अनुसन्धान

जनकपुर १९ साउन

मधेश प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले शंकास्पद रकमान्तर गरेको उजुरीपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो देखाएको छ।

गत आर्थिक मसान्तको अन्ततिर प्रदेशका जिल्लाहरूका लागि सार्वजनिक भएको रेडबुकमा भएको योजनाहरूको रकम नियम विपरीत रकमान्तरण गरी रकम अनियमितता गरेको उजुरी दर्ता भएपछि अख्तियारको बर्दिबास कार्यालयले अनुसन्धान अघि बढाउने निर्णय गरेको छ।

अख्तियारको कार्यालयले उक्त उजुरी सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयलाई गत साउन १४ गते पत्राचार गरेको थियो।

आर्थिक वर्ष २०७९/८० मा रेडबुकमार्फत् सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी प्रदान गरिएको पर्यटन विकासबाट सञ्चालन गर्ने भनिएको करिब ४२ करोड बराबरको योजना मन्त्री यादवले ‘सरेन्डर’ गर्न लगाएर ती कार्यक्रमहरूको रकम पुनः विभिन्न शीर्षकका २६३ वटा योजना कार्यक्रमहरूमा नियमविपरीत विनियोजन गरी शंकास्पद रकमान्तर गराएको आरोप छ।

संसदबाट पारित भई रेडबुकमार्फत् सार्वजनिक गरिएको योजनाहरूको संशोधनका पुनः रकमान्तर गर्ने अधिकार नहुँदा पनि उनले रकमान्तर गरेर भ्रष्टाचार गरेको भन्दै मन्त्री यादव र सहायक वन अधिकृत लालबाबु यादवविरूद्ध उजुरी परेको हो।

रकमान्तर गरिएका रकमको पुनः बाँडफाँट गर्दा अधिकृत यादवले टिप्पणी उठाएका थिए। मन्त्री यादवमाथि रकमान्तर गरेर सञ्चालन गरिएका सबै योजना १० प्रतिशत कमिशन लिएर वितरण गरेको आरोप छ।                सभार:- सेतोपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।