वीरगंज महानगरपालिकामा मेयर र उपमेयरबीच विवाद, ठूलो संख्यामा प्रहरी परिचालन
वीरगंज महानगरपालिकामा मेयर र उपमेयरबीच विवाद, ठूलो संख्यामा प्रहरी परिचालन

वीरगंज २६ मंसिर
वीरगन्ज महानगरपालिका कार्यालयमा कार्यकक्षको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको छ।कार्यकक्षकै विषयलाई लिएर नगरप्रमुख राजेशमान सिंह र उपमेयर इम्तियाज आलम पक्षबीच विवाद भएको हो।
नगर प्रमुख सिंह बस्दै आएको कार्यकक्ष छाडेर भर्खरै बनेको नयाँ कार्यकक्षमा सरेका छन्। नगरप्रमुख सिंहको पुराना कार्यकक्षमा भर्खरै सरुवा भएर जिम्मेवारी सम्हालेका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई सरेका छन्।
कर्मचारी स्रोतका अनुसार नगर प्रमुखले तत्कालीन प्रशासकीय अधिकृत बस्दै आएको कार्यकक्षमा पन्जीकरण शाखा राख्न तयारी गरेपछि विवाद भएको हो।
उक्त कर्मचारीका अनुसार तत्कालीन प्रशासकीय अधिकृत बस्दै आएको कार्यकक्षमा उपमेयर पक्षले आफ्नो सचिवालय बनाउन अडान लिएकाे छ।
अहिले महानगरपालिका कार्यालयमा दुवै पक्षका व्यक्तिहरू ठूलो संख्यामा पुगेपछि त्यसलाई रोक्न प्रहरी पुगेको प्रहरीले जनाएको छ। दुवै पक्षलाई रोक्न अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए। सभार: नयाँ पत्रिका





