जयशङ्करको भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन महत्त्वका विभिन्न सहमति

नेपाल र भारतका परराष्ट्रमन्त्रीहरूको उपस्थितिमा दुई देशबीच दीर्घकालीन महत्त्व राख्ने कतिपय विषयहरूमा सम्झौता भएको नेपाली अधिकारीहरूले बताएका छन्।
भारतीय विदेशमन्त्री एस जयशङ्कर दुईदिने नेपाल भ्रमणमा बिहीवार नेपाल आएका हुन्। उनी र नेपाली परराष्ट्रमन्त्री एनपी साउदबीच द्विपक्षीय हितबारे गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
जयशङ्करले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटघाट पनि गरेका थिए।
त्यसपछि उनी राजधानी काठमाण्डूस्थित एउटा पाँचतारे होटलमा आयोजित दुई देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी भए।
उक्त बैठकले झन्डै आठ महिनाअघि नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएका सहमतिहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा समेत गरेको बताइएको छ।
नेपाल र भातरबीच भएका सहमति
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रीहरूले द्विपक्षीय हित र दुई देशका कतिपय साझा विषयबारे आपसमा छलफल गरेका छन्।
नेपालका परराष्ट्रमन्त्री एनपी साउदले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामीले आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिक मुद्दालगायतका विषयगत क्षेत्रअन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल गर्यौँ।”

तस्बिर स्रोत,RSS
उक्त बैठकको दुवै देशका परराष्ट्रमन्त्रीहरूले संयुक्त रूपमा अध्यक्षता गरेका थिए।
संयुक्त आयोगको बैठकपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, “यस क्रममा [बैठकमा] नेपाल र भारतको समग्र विषयहरूलाई समीक्षा गर्ने र आगामी दिनमा सम्बन्धलाई कसरी अझ सुदृढ बनाउने भन्ने सिलसिलामा छलफलहरू भएका छन्।”
उनले नेपाल र भातबीच ‘कनेक्टिभिटी’, जलविद्युत् व्यापारलगायतका चारवटा सम्झौताहरूमा हस्ताक्षर भएको बताए।
राईले १३२ केभी तीनवटा अन्तरदेशीय प्रसारण लाइनहरूको पनि उद्घाटन भएको जानकारी दिए।
उनका अनुसार भारतले नेपाललाई भूकम्पपछिको पुनर्निर्माणका लागि दिने एउटा अनुदानबारे पनि सहमति भएको छ।
विद्युत् व्यापारसम्बन्धी सहमति

तस्बिर स्रोत,RSS
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी एउटा दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा नेपाल र भारतका ऊर्जासचिवहरूले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
आगामी १० वर्षमा १०,००० मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिलाई बिहीवार भएको हस्ताक्षरसँगै पूर्णता पाएको अधिकारीहरूले बताएका छन्।
बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका हुन्।

तस्बिर स्रोत,MOFA NEPAL
प्रधानमन्त्री प्रचण्डले गत जेठमा गरेको भारत भ्रमणका क्रममा उक्त ऊर्जा व्यापार सहमति भएको थियो।
भारतको सङ्घीय मन्त्रिपरिषद्ले नेपालबाट विद्युत् आयातसम्बन्धी उक्त सम्झौतालाई अनुमोदन गरिसकेको बताइएको छ।
सरकारी समाचार संस्था राससले जनाएअनुसार उक्त सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा विद्युत् खरिद-बिक्री सम्झौता गरी नेपाली बिजुली लिने छन्।
नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात वा निर्यात गर्न सक्ने छन्।
नेपालले आगामी १२ वर्षमा कुल २८,००० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीति बनाएको छ।
त्यसमध्ये १३,००० मेगावाट आन्तरिक खपतका लागि र १५,००० मेगावाट भारत लगायतका देशमा निर्यातका लागि हुने अधिकारीहरूले बताएका छन्।
राष्ट्रपतिले जयशङ्करसँग के भने?

तस्बिर स्रोत,RSS
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय विदेशमन्त्री एस जयशङ्करले शीतल निवासमा शिष्टाचार भेट गरे।
“सो अवसरमा नेपाल र गणतन्त्र भारतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो,” उक्त भेटघाटपछि राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
“उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र भारतलाई शताब्दीदेखि प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूले जोडेको हुँदा यी दुई देशका जनताको बृहत् हितका लागि यी सम्पदाहरूको परिचालन र संरक्षण आवश्यक रहेको कुरा बताउनुभयो।”
“साथै उहाँले जलवायु परिवर्तनका कारण हाल नेपाल लगायत विश्वमै परेको प्रभावका सम्बन्धमा सबैले गम्भीरतापूर्वक लिन र हिमाल लगायत वातावरण संरक्षणका लागि सामूहिक पहलमा जोड दिनुभयो।”
प्रधानमन्त्रीले के भने?

तस्बिर स्रोत,RSS
जयशङ्करले बिहीवारै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका प्रधानमन्त्री प्रचण्डसँग पनि शिष्टाचार भेटघाट गरेका छन्।
उक्त भेटमा द्विपक्षीय हितका विषयमा चर्चा भएको प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन्।
उनले भारतका विदेशमन्त्रीलाई आफ्नो कार्यालयमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै द्विपक्षीय हितबारे कुराकानी भएको जनाएका हुन्।
प्रचण्डले एक्समा लेखेका छन्, “[हामीबीच] सदियौँ पुरानो, अनुपम र बहुआयामिक नेपाल–भारत सम्बन्धका बारेमा ठोस विचार आदानप्रदान भयो।”
प्रधानमन्त्रीको सचिवालयले पनि भेटमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको जनाएको छ।
भेटमा प्रचण्डले आफ्नो पछिल्लो भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनबारे नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक फलदायी हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार रुपक सापकोटालाई उद्धृत गर्दै राससले जनाएको छ। बिबिसी बाट साभार






