यसपालीको बजेट कसैको दबाबमा होइन, नागरिकको राय, सुझाबमा बन्ने छ : मन्त्री यादव
यसपालीको बजेट कसैको दबाबमा होइन, नागरिकको राय, सुझाबमा बन्ने छ : मन्त्री यादव

सिन्धुपाल्चोक (चौतारा), २४ माघ
खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको खानेपानीको वजेट कसैको पनि दबाबमा नभई खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नागरिकको राय सुझाबमा बन्ने बताउनु भएको छ ।
आज सिन्धुपाल्चोक, चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजनाको नव निर्मित भवन तथा गुणस्तरिय खानेपानी प्रशोधन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभरीका करिब ४२ हजार उपभोक्ता समितिलाई ध्यान दिएर हामी यसपालीको बजेट बनाउने छौँ । कसैको धाधली, दबाबमा बजेट बन्ने छैन, खानेपानीको समस्या उपभोक्ता समिति जति सकैले पनि बुझन सकेको छैन् । उपभोक्ता समितिको राय, सल्लाह र सुझबमा मात्रै हामीले खानेपानीको बजेट बनाउने छौँ ।”
खानेपानी नागरिकको मौलिक हक भएकाले आम नेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी एवम् दायित्व भएकाले खानेपानीका क्षेत्रमा उपभोक्ताबाट लिइदै आएका करहरुलाई पनि अन्त गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी र सरसफाइ: हाम्रो प्राथमिक आवश्यकता हो ।
नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो । हाम्रै नागरिकले प्रयोग गर्ने पानीबाट सरकारले कर लिने विषय राम्रो होइन ।”
आगामी आर्थिक वर्षको वजेटमा सिन्धुपाल्चोक जिल्लामा खानेपानीको क्षेत्रमा राम्रो वजेट विनियोजन गराउने समेत मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो ।
देशका हिमाल, पहाड, र तराईका विभिन्न क्षेत्रमा देखा परेका खानेपानीका समस्या समाधान गर्न आफु सहित सम्पूर्ण मन्त्रालयको टोली अहोरात्र खटिएको मन्त्री यादवले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सिन्धुपोल्चोक सहित देशभरीमा रहेका खानेपानीका समस्या समाधान गर्नका लागि हाम्रो टोली अहोरात्र खटिएको छ । खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्दै शुद्ध र स्वच्छ पानी वितरण गर्नु हाम्रो प्रमुख लक्ष्य र उद्देश्य रहेको छ ।”
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रमा रहेका दाजुभाइ–दिदीबहिनीहरूले बोकेर पानी खानुपर्ने अवस्थाको अन्त्य गर्न लागि परेको छु । दातृ निकायको सहकार्यमा म यसको अन्त्य गर्छु ।”
आज उद्घाटन गरिएको उक्त आयोजनाले चौतारा साँगाचोकगढी नगरपालिका लगायत आसपासका क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधार गर्ने एवम् विशेष गरी, सुरक्षित र प्रशोधित खानेपानी उपलब्ध गराएर स्वास्थ्य, सरसफाइ, र समग्र जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउनेछ भन्ने आफ्नो दृढ विश्वास रहेको मन्त्री यावले बताउनुभयो ।
करिब रु ६ करोडको लागतमा निर्माण भएको उक्त परियोजनाबाट साविकको स्याउले गाविस चौतारा–१ का दुई सय ५० घरधुरी लाभान्वित हुनुका साथै, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १, ५, ६, र ७ का पाँच हजार पाँचसय घरधुरी, सदरमुकाम क्षेत्रका सरकारी कार्यालयहरू, तथा सेनाको ब्यारेकका गरी कम्तिमापनि ३० हजार नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने उक्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुभास कर्माचार्यले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा जिल्ला समन्य समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पछिल्लो समय खानेपानीको क्षेत्रमा उल्लेख्य सुधार सहितको प्रगती हुँदै गएको प्रति खुशी व्यक्त गर्नु हुँदै नागरिकलाई शुद्ध अनि स्वच्छ पानी वितरणमा कुनै कन्जुस्याई गर्न नहुँने धारणा राख्नु भएको थियो ।
आजको उक्त कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादव, सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, जिल्ला समन्य समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।