शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मुखियाका कारण सेवाग्रहीहरु पिडित

वीरगंज । शिक्षा विकास तथा समन्वय इकाई पर्साका निमित्त प्रमुख उमेश कुमार मुखियाका कारण सेवाग्रहीहरु पिडित बन्न पुगेको समाचार प्रकाशमा आएको छ ।
इकाई पर्साका प्रमुखको सरुवा भए पछि केही महिना इकाई कार्यालय प्रमुख विहिन भए पछि गत माघ २९ गते निमित्तको जिम्मेवारी पाएका मुखियाले मन्त्रालय र विभागका केही अधिकृतलाई मोटो रकम नजराना बुझाई निमित्तको जिम्मेवारी लिन सफल भएको समाचार स्रोतले जनाएको छ । अन्य जिल्लाहरुबाट शिक्षक, शिक्षिकाहरु सरुवा गराई पर्सामा आउनको लागि शिक्षा विकास तथा समन्वय इकाईबाट स्विकृति लिनु पर्ने प्रावधान रहेकोमा सोही स्विकृति लिन पुग्दा प्रमुख मुखियाले बदनियत राखेर स्विकृतिमा ढिलाई गर्ने गरेको शिक्षक, शिक्षिकाहरुले गुनासो गरेका छन् ।
गत फागुन २ गते एक शिक्षक शिक्षिकाले स्विकृति लिन जाँदा हुन्छ, हुन्छ भन्दै हालसम्म स्विकृति नदिएको एक शिक्षकले गुनासो गरे । धनुषा जिल्ला बटेश्वर गाउँपालिका निवासी मुखियाले सेवाग्रहीहरु जाँदा काम अनुसारको अप्रत्यक्ष रुपमा बार्गेनिङ्ग गर्ने, कुरो मिलेपछि तुरुन्तै काम गर्ने र नमिले पछि यो मिलेन, त्यो मिलेन भन्दै आलटाल गर्ने गरेको बताईन्छ । बार्गेनिङ्गको मामिलामा माहिर मानिएका मुखियाले शिक्षक सेवा आयोगबाट पास भई सिफारिस लिएर आएका सेवाग्रहीहरु सँग पनि मोटो रकम नजराना असुलेर काम गर्ने गरेको बताईन्छ ।
निमित्त प्रमुखको जिम्मेवारी सम्हाले देखि इकाई कार्यालयलाई तहसनहस पार्नमा तल्लिन देखिएका मुखियाको कार्यशैलि प्रति नेपाल शिक्षक महासंघ जिल्ला समिति पर्साले आपत्ति जनाईसकेको छ । पर्सा जिल्लामा रिक्त दरबन्दी हुँदा हुँदै पनि शिक्षक शिक्षिकाहरुलाई विस्थापित गर्ने कार्यमा संलग्न रहेका मुखियालाई सेवाग्रहीहरुले असंक्षम र अनुभव विहिनको संज्ञा दिदै आएका छन् । नियमनकारी निकायले प्रमुख मुखियालाई बेलैमा अंकुश लगाउन सकेन भने पर्सा जिल्लाको शिक्षामा व्यापक असर पर्ने सम्भावना रहेको शिक्षाविद्धहरुको भनाई रहेको छ ।
यस सन्दर्भमा निमित्त प्रमुख मुखियालाई पटक–पटक मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा उनी फोन रिसिभ नगरी सम्पर्कमा आउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।