रौतहटको लक्ष्मीनिया माविमा ‘साक्षरताका लागि सांस्कृतिक कार्यक्रम’ सम्पन्न

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्धारा लक्ष्मीनिया माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘साक्षरताका लागि सांस्कृतिक कार्यक्रम’ आईतवार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट ३ का सांसद प्रभु साहले सांस्कृतिक कार्यक्रमले नवोदित छात्रछात्राको मनोबलमा सकारात्मक प्रभाव पर्ने बताए ।
उनले राष्ट्रिय कलाकार झै छात्रछात्राले आफ्नो प्रस्तुती गरेको र राष्ट्रिय कलाकार जस्तै नगरमा क्रिकेट खेलाडीले प्रदर्शन गरेको खेल यस नगरकालागि गौरवको विषय भएको अनुभुति आफूलाई भएको बताए ।
यो भुमि देवका देवको भूमि रहेको साहले बताए । दुनियालाई कल्याण गर्नलाई यस भूमि अग्रगामी कार्यदिशाका साथ अगाडी बढ्दै गएको छ । आउने दिनमा यहाँका बच्चाहरु एक बच्चा एकलाई साक्षरता बनाउँन सांसद साहले आग्रह समेत गरेका छन् ।
उनले शिक्षा आर्जन नै सबैभन्दा ठूलो सम्पत्ति रहेको चर्चा गर्दै छोराछोरी दुवैलाई समान व्यवहार गरी विद्यालय पठाउनुपर्ने बताए ।
उनले विकास र समृद्धितर्फ मुलुक अघि बढेको बताउँदै रौतहट क्षेत्र नम्बर ३ पनि विकासको मुलधारमा समाहित भएको बताए । सांसद साहले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत एवं अत्यावश्यक सेवा सुविधालाई तीनै तहको सरकारले प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताए ।
साथै मौलापुरलाई साक्षर बनाउने संकल्प सहित नगरपालिकाले आयोजना गर्दै आएको यी र यस्ता रचनात्मक एवं दुरगामी महत्वका कार्यक्रमहरुले मानव विकास सूचकांकमा पछाडि रहेको रौतहटलाई माथि उकास्न विशेष सकरात्मक परिणाम एवं प्रेरणा प्राप्त हुने अपेक्षा एवं विश्वास रहेको सांसद साहले बताए ।
त्यस क्रममा विभिन्न नाटक, गीत संगीतको प्रस्तुती गरिएको थियो । त्यसै क्रममा बिद्यालयको प्राङ्गणमा विभिन्न जात जातिका बोट बिरुवाहरु रोपिएको छ । उक्त कार्यक्रममा मौलापुरका नगरप्रमुख रिनाकुमारी साह, आजपा महासचिव त्रिभुवन साह, मधेश प्रदेश अध्यक्ष उमेश कुश्वाहा, स्थायी कमिटीका सदस्य विजय यादव, आम महिला मोर्चाका केन्द्रीय अध्यक्ष कुमारी बबिता लगायतको सहभागिता रहेको थियो ।






