सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख २३ हजार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख २३ हजार

काठमाडौं२२फाल्गुन

नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुनचाँदी बजारमा आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला एक लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार चार सय रुपैयाँ कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २० हजार चार सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार चार सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
यसअघि गत पुस १२ गते प्रतितोला एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो। त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।