वीरगञ्ज महानगरमा थपिएका नयॉं वडाहरुमा शुद्ध खानेपानी पुर्याउनु हाम्रो प्रमुख दायित्व हो : मन्त्री यादव
वीरगञ्ज महानगरमा थपिएका नयॉं वडाहरुमा शुद्ध खानेपानी पुर्याउनु हाम्रो प्रमुख दायित्व हो : मन्त्री यादव

वीरगंज १९ पुस
खानेपानीमन्त्री प्रदीप यादवले पर्साको वीरगञ्ज महानगरपालिकामा थपिएका नयॉं वडाहरुमा शुद्ध खानेपानी पुर्याउनु आफ्नो प्रमुख दायित्व भएको बताउनु भएको छ ।
आज पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका स्थित जनता सडक अन्तर्गत रामराजापुलदेखि प्रसौनी विर्ता हुँदै इनर्वा मनियारी र जगरनाथपुर सडक (पाँच किमी) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजना शिलान्यास गर्दै मन्त्री यादवले आम नेपाली नागरिक सहित यहाँका थपिएका वडाहरुमा शुद्ध खानेपानी पुर्याउनु आफ्नो प्रमुख दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो । म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधै कटिबद्ध छु ।”
सोही क्रममा मन्त्री यादवले पर्सा जिल्लावासी आम नगारिकहरुका खानेपानीका क्षेत्रमा देखिएका समस्या पूर्ण रुपमा समाधान गरिने समेत बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको एक घर एक धाराको अवधारणा अनुसार मन्त्रालय विभिन्न खानेपानी आयोजनाको क्षेत्रमा काम गरिरहेको छ । हामीले इनर्वा मनियारी लगायतका क्षेत्रमा नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजना आज सुरुवात गरेका छौँ । पर्सा जिल्लाका नागरिकका खानेपानीका समस्या समाधान गरेरै छोड्छौँ ।”
सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले आम नेपाली नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पष्ट निर्देशन रहेकाले आफुले पनि मन्त्रालय सम्हालेदेखि हाल सम्म नागरिकका खानेपानीका समस्या दीर्घकालिन रुपमा समाधान गर्नतर्फ अग्रसर रहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारको एक घर एक धाराको अवधारणा छ । आम नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन म सहित सिङ्गो मन्त्रालय खटिएका छौँ । तराइँ, पहाड र हिमाली क्षेत्रका नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न मैले कुनै कसर बाँकी राखिने छैन् ।”
पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहानहरु सुक्दै जान थालेकाले तराइँ लगायतका क्षेत्रमा भुमिगत पानी सुक्न थालेको एवं चापाकलमा समेत पानी आउन बन्द हुँदा नागरिकलाई पानीको समस्या झन थपिँदै गएको उहाँको भनाई थियो ।
तराइँ क्षेत्रमा भुमिगत पानी संरक्षण गर्नका लागि चुरे दोहन गर्ने कार्य यथासक्के रोक्नु पर्ने मन्त्री यादवले धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “चुरे दोहनले तराइँमा भुमिगत पानी सुक्न थालेका छन् । विकासका नाममा चुरे दोहन गर्नेलाई कडा कारवाही गर्न जरुरी छ ।”
यसैगरी मन्त्री यादले वीरगञ्ज महानगरपालिका स्थित जनता सडक अन्तर्गत रामराजापुलदेखि प्रसौनी विर्ता हुँदै इनर्वा मनियारी र जगरनाथपुर सडक (पाँच किमी) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजना सम्पन्न भएपश्चात यहाँका नागरिकलाई खानेपानीको क्षेत्रमा निकै राहत पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “आउँदो छ महिनामा काम सक्ने गरी आज उक्त परियोजनाको शिलान्यास गरेका छौँ । परियोजना सम्पन्न भएपछि तपाईहरुलाई खानेपानीका लागि ठूलो राहत मिल्ने छ ।”
साविकको वीरगञ्ज नगरपालिका हुँदा यहाँ १९ वटा वडाहरु रहेका थिए भने पछि केही गाउँका १३ वडा थपेर अहिले ३२ वटा वडाहरु पुर्याइएको पर्सा स्थित वीरगञ्जका वडाहरुमा अहिले नेपाल खानेपानी संस्थानले खानेपानीमन्त्री यादवको निर्देशनमा नयाँ पाईप लाईन विस्तारको कार्य गरी रहेको नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखा कार्यालयका प्रमुख प्रविन साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब रु दुई करोड ४० लाखमा उक्त परियोजना निर्माण गरिन लागिएको र उक्त नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनामा छ ईन्चको जिआइपी पाइप राखिने भएको छ ।
आजको उक्त कार्यक्रममा संबिधान सभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेश सभा सदस्य पारश साह, नेपाल खानेपानी संस्थान ईन्जिनियर महाशाखा प्रमुख निरन मर्हजन, शाखा कार्यालय कलैया बाराका प्रमुख सञ्जिब यादव, वीरगञ्ज शाखा कार्यालयका प्रमुख प्रविन सलगायतका उपभोक्तहरुको सहभागिता रहेको थियो ।






