माफियाहरूले मिलेर सिमेन्टको मूल्य बढाए, जनताको घर बनाउने सपना हाइज्याक भयो: रहबर अन्सारी
माफियाहरूले मिलेर सिमेन्टको मूल्य बढाए, जनताको घर बनाउने सपना हाइज्याक भयो: रहबर अन्सारी

वीरगञ्ज १५ फागुन
‘सिमेन्ट माफिया खबरदार, यहाँ माफिया छन् धेरै, सरकार हेरेको हेरै’ सिमेन्टको बोरा शरीरमा पहिरिएर वीरगञ्जको घण्टाघरमा नारा लगाउँदै थिए मधेस प्रदेशका प्रदेश सभा सदस्य रहबर अन्सारी । उनी भन्दै थिए, ‘मूल्य बढेको बढै–हामी हेरेको हेर्यै, माफिया पालक मुर्दावाद, भोका जनता सडकमा, सरकार तडकभडकमा ।’ यसअघि नै सर्वोच्च अदालतमा सिमेन्ट उद्योगको कार्टेलविरुद्ध रिट दायर गरेका अन्सारीले बिहीबार वीरगञ्जमा सिमेन्टको चर्को मूल्यको विरुद्ध पृथक् शैलीमा प्रदर्शन गरे ।
वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रदर्शन माईस्थान, आदर्शनगर अलखिया मठ बाट ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । मधेस प्रदेशका पूर्व राज्यमन्त्री समेत रहेका रहबरले सिमेन्टको मूल्यमा भएको कार्टेलको विरुद्धमा ध्यानाकर्षण गराउन सडकमा उत्रिनुपरेको बताए ।
उनले भने, ‘सिमेन्टको मूल्य आकासिएको छ, हामी नेपाली जनतालाई लुट्ने र ठग्ने काम भइरहेको छ । भारतमा प्रतिबोरा २ सय ८० रुपैयाँमा निर्यात नेपाली सिमेन्ट नेपालीले भने ८ सय रुपैयाँ तिर्नुपरी रहेको छ । यसले आम नागरिकको घर बनाउने सपनालाई हाइज्याक गरेको छ ।’
सिमेन्टको मूल्यकै कारण ४ कोठे घर बनाउनका लागि १० लाख रुपैयाँ अतिरिक्त तिर्नुपर्ने अवस्था आएको उनले दाबी गरे । सिमेन्टको मूल्यमा भइरहेको सिन्डिकेटले गर्दा यहाँका निर्माण व्यवसायीदेखि मजदुरसम्मको काम प्रभावित भएको अन्सारीको भनाई छ ।
उनले थपे, ‘यो देशका १५ देखि २० जना माफियाले देशलाई बन्धक बनाएर राखेका छन् । उनीहरूले हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन् ।’ अब माफियाहरूलाई तह लगाउने समय आएको हुँदा एक भएर हातेमालो गर्न उनले अपिल गरे । बिहीबारको प्रदर्शन कुनै आन्दोलन नभएर आन्दोलनको बिगुल फुकेको उनले बताए ।
रहबरले सिमेन्टको बोरालाई सिलाएर पहिरिएका थिए । जसको दुबैतर्फको बाहुमा भ्रष्टाचार लेखिएको थियो । जसले भ्रष्टाचारको विरुद्धमा आन्दोलनको बिगुल फुक्ने संकेत उनले गरेका थिए । उनको प्रदर्शन गर्ने शैली पृथक् थियो । चाहे उनले लगाएको पहिरन होस्, वा उनले लगाउने नारा । सिमेन्टको मूल्यको विरोध गर्दा उनले त्यही सिमेन्टको बोरालाई सिलाएर पहिरिएका थिए । त्यस्तै नारामा पनि अहिले चलेका गीतका शब्दसँग मेल खाने किसिमका सुनिन्थे । दुर्गेश थापाको शब्द, सङ्गीतसँगै दुर्गेशसँगै समीक्षा अधिकारी र एलिना चौहानको आवाजमा रहेको के हो तिम्रो नाम बहिनी परिचय पाम, कता हिँडेको बिजुली बालेर, दुस्मन हेरेको हेर्यै’ बोलको गीतसँग मिल्ने खालका नारा आजको प्रदर्शनमा घन्किएका थिए ।
‘के हो तिम्रो नाम? माफिया परिचय पाम,” “कता हिँडेको गफ दिएर, घुस लिएर कट खाएर जनता हेरेको हेरै” जस्ता नारा प्रदर्शनमा सहभागीहरूले लगाएका थिए । यस्तै खेम सेन्चुरीको सङ्गीत र शान्ता रानी परियारको आवाजमा रहेको “म त ढले ढले ढले” बोलको गीतसँग मिल्ने “सिमेन्टको मूल्य सुनेर, ए जनता ढले ढले ढले ढले” लगायतका नाराले प्रदर्शनलाई अझै रोचक बनाएको थियो ।
हुन त रहबरको रोचक ढङ्गले प्रदर्शन गर्ने शैली पुरानै हो । यसअघि उनले २१ जेठ २०७७ तिर तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले लिएको कर नीतिविरुद्ध अर्धनग्न भएर प्रदर्शन गरेका थिए । त्यति बेला पनि रहबरको प्रदर्शनको चर्चा चलेको थियो । संभार: यात्रा डेली






