मधेश प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगंज गोल्डकप सुरु, पहिलो खेलमा युनाईटेड क्लब विजयी

वीरगंज । मधेश प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगंज गोल्डकप प्रतियोगिता शनिवार देखि वीरगंजमा सुरु भएको छ ।
शनिवार भएको पहिलो खेलमा आयोजक वीरगंज युनाईटेड क्लबले विजयी सुरुवात गरेको छ । आर्दशनगर रंगशलामा जारी प्रतियोगीताको उदघाटन खेलमा वीरगंज युनाईटेड क्लबले १–० गोलअन्तरले गरवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।
खेलको ५२ औं मिनेटमा गरवाल डाइमण्ड फुटबल क्लबका खेलाडी सन्दिप रानाले आत्मघाती गोल गरेपछि वीरगंज युनाईटेड क्लबले अग्रता पाएको हो ।
खेलमा फर्कन निरन्तर प्रयास गरेको गरवाल डाइमण्ड फुटबल क्लबले अन्तिम सम्म पनि सकेन । खेलको म्यान आफ दि म्याच वीरगंज युनाईटेड क्लबका खेलाडी विपिन मगर घोषित भएका थिए ।
आईतवारको खेल सहलेश फुटबल क्लब सिरहा र संकटा फुटबल क्लब काठमाडौं बिच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका आठ वटा फुटबल टिमको सहभागिता रहने जनाईएको छ ।
अब प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगंज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
सो प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगंज महानगरपालिका रहेको छ ।
प्रतियोगितामा आउने दर्शकहरुलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरिएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजार भन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजार भन्दा धेरै दर्शक अट्ने क्षमता रहेको बताईएको छ । आज सुरु भएको खेलको समुद्घाटन वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।