प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने
प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने

काठमाडौँ २१ फागुन
नेपालमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री डा.आरजु राणा दिल्ली जाने भएकी छिन्। निम्तो दिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरिएको छ । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले समय व्यवस्थापनका लागि त्यहाँका विदेश मन्त्रालयलाई आग्रह गरिएको बताए ।
हिजो नेपाली राजदूत शर्माले भारतका विदेश सचिव विक्रम मिस्रीसँग भेटेर प्रधानमन्त्री मोदीको समय मिलाई दिन आग्रह गरेको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि सो आग्रहमा विदेश मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया नआएको बताइएको छ ।
परराष्ट्र मन्त्री आरजु मार्च १७–१९ तारेखमा आयोजना हुने रायसिना डायलगमा सहभागी हुने जाने भएकी छिन् । त्यस क्रममा प्रधानमन्त्री मोदीलाई नै भेटेर सगरमाथा संवादका लागि निमन्त्रणा दिने तयारी परराष्ट्रमन्त्री आरजुको रहेको छ ।
रायसिना डायलगमा अर्थमन्त्री विष्णु पौडेल जानुपर्ने कार्यक्रम थियो । तर अर्थमन्त्री पौडेल नजाने भएपछि परराष्ट्रमन्त्री तयार भएकी हुन् । भारतका प्रधानमन्त्री मोदीलाई निम्तो दिनका लागि जानैपर्ने भएपछि रायसिना डायलग कार्यक्रमको बहाना बनाएर राणा चाँडै दिल्ली जान लागेकी हुन् ।
सगरमाथा संवाद अगामी जेठमा हुँदै छ । जेठ २–४ गतेसम्म विश्वका कैयौँ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित विषय विज्ञ र अनुसन्धानदातालाई बोलाएर काठमाडौँमा संवाद आयोजना गर्ने सरकारको तयारी छ ।
संवाद कार्यक्रमका भारत, चीन तथा दक्षिण एसियाली देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी परराष्ट्रमन्त्रालयले गरेको छ । त्यसका लागि पहिलो निम्तो भारतीय प्रधानमन्त्री मोदीलाई दिन लागिएको हो ।
त्यसअघि अप्रिल २–४ सम्म थाइल्यान्डमा हुने विमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओली बिच साइडलाइन वार्ताको लागि पनि प्रयास भइरहेको छ ।






