हनुमान जयन्तीको शोभायात्रामा दुई समुदाय बीच झडप, स्थिति नियन्त्रणमा लिन कफ्र्यु आदेश जारी
हनुमान जयन्तीको शोभायात्रामा दुई समुदाय बीच झडप, स्थिति नियन्त्रणमा लिन कफ्र्यु आदेश जारी

वीरगंज २९ चैत्र
हनुमान जयन्तीको उपलक्ष्यमा वीरगंजमा निकालिएको शोभा यात्रा माथि गरिएको आक्रमणमा परी करिब ४ दर्जन भन्दा बढी सर्वसाधारण र प्रहरी घाइते भएका छन् । शनिबार अपरान्ह शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगंजको छपकैयामा पुगेपछि दुई फरक धर्मका समुदाय बीच झडप भएको हो ।
वीरगंज महानगरपालिकाको सम्पूर्ण वडा तथा अन्य पालिकाहरुबाट हिन्दू समुदायले हनुमान जन्मोत्सवको अवसरमा निकालेको शोभायात्रा वीरगंजको घण्टाघरमा जम्मा भई नगर परिक्रममा सुरु गरेको थियो ।
सोही शोभायात्रा बेलुका करिब ५ बजेको समयमा वीरगंज महानगरपालिका–२ श्रीराम हलस्थित जामे मस्जिद अगाडि पुग्दा मस्जिदबाट एक्कासी ढुंगा प्रहार भएको एक प्रत्यक्षदर्शीले बताए । त्यस पछि दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।
दुई समूहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुको साथै दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले वीरगंज शहरी क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । वीरगंजमा शनिबार बेलुकी ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । उनका अनुसार पूर्वमा भेडियाही चौक, उत्तर गण्डक चौक, पश्चिममा सिर्सिया चौक र दक्षिणमा शंकराचार्य गेट गरी चार किल्ला तोकर वीरगंज शहरी क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो ।
छपकैयाको इदगाह चोकमा शनिबार बेलुकी ८ बजेसम्म पनि प्रहरी र स्थानीय बीच झडप चलिरहेपछि नेपाली सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
उनका अनुसार झडपमा परी प्रहरी र स्थानीय गरी करिब ४ दर्जन घाईते भएका छन् । घाईतेहरुको नारायणी अस्पताल सहित अन्य अस्पतालहरुमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैबिच हिन्दू समाजले शनिवार राती माईस्थान मन्दिर अगाडि पत्रकार सम्मेलन गर्दै शन्तिपूर्ण शोभायात्राको क्रममा छपकैयामा फरक समुदायका व्यक्तिहरुले अचानक ढुंगामुढा गरेको विभिन्न भिडियो, फोटोहरुबाट प्रष्ट हुन्छ, र प्रहरीले परिचालन गरेको ड्रोन क्यामराको भिडियो, फोटो सार्वजनिक गरी त्यसै आधारमा प्रहरीले दोषीहरुलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ ।






