वीरगञ्जमा सुरक्षित र जिम्मेवार वैदेशिक रोजगारीसम्बन्धी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगञ्जमा सुरक्षित र जिम्मेवार वैदेशिक रोजगारीसम्बन्धी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

वीरगञ्ज २५ बैशाख

सुरक्षित र जिम्मेवार वैदेशिक रोजगारी प्रवर्द्धनका लागि वीरगञ्जस्थित होटल गेटवे, घण्टाघरमा एकदिने अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। “स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्रै जाऊ” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले भोग्नुपर्ने जोखिम, ठगी तथा अन्य समस्याहरूको पहिचान गर्दै उनीहरूको आवाज बुलन्द पार्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी सही र विश्वसनीय सूचना प्रवाहमा सञ्चारकर्मीको भूमिका, सुरक्षित आप्रवासनका उपाय, श्रमिक ठगी रोकथाम तथा रोजगारी सूचना केन्द्र सञ्चालनबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई ‘फ्री भिसा फ्री टिकट’, ‘नो एजेन्ट नीति’ लगायतका सरकारी कार्यक्रमबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सूचनाको सहज पहुँच र सीप विकास सुरक्षित वैदेशिक रोजगारीको पूर्वशर्त भएको उल्लेख गरे। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई ठगी र शोषणबाट जोगाउन सञ्चार, नीति र अभ्यासमा सुधार आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले वैदेशिक रोजगारीसम्बन्धी समाचार लेख्दा स्रोतको विश्वसनीयता सुनिश्चित गर्नु पर्नेमा जोड दिए। साथै, पीडित श्रमिकहरूको आवाजलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गरिनुपर्ने सुझावसमेत राखिएको थियो।

कार्यक्रममा सुरक्षित आप्रवासन (SAMI) परियोजनाका प्रतिनिधिहरुले वैदेशिक रोजगारीमा नजान चाहने वा विदेशबाट फर्किएका युवाहरूका लागि तालिम, रोजगार सिफारिस र व्यवसायिक सहयोग जस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

कार्यक्रम संयोजक रमाशंकर कुशवाहाको संयोजनमा सम्पन्न उक्त अन्तर्क्रियामा सञ्चार क्षेत्रका वरिष्ठ सम्पादक, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका थिए।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।