बीरगंज र तुलसीपुर उपमहानगरपालिकाबीच न्यायिक कार्य प्रणाली र मेलमिलाप सम्बन्धी अनुभव आदानप्रदान

बीरगंज र तुलसीपुर उपमहानगरपालिकाबीच न्यायिक कार्य प्रणाली र मेलमिलाप सम्बन्धी अनुभव आदानप्रदान

तुलसीपुर उपमहानगरपालिकाको प्रतिनिधिमण्डलले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा बीरगंज महानगरपालिकाको अध्ययन भ्रमण गर्दै न्यायिक समिति, मेलमिलाप प्रक्रिया तथा ‘उज्यालो र सफा बीरगंज’ अवधारणाबारे गहन छलफल गरेको छ।

बीरगंज महानगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक इम्तियाज आलमसँगको भेटमा टोलीले न्यायिक समितिको कार्यप्रणाली, केस व्यवस्थापन र मेलमिलाप प्रक्रिया कस्तो छ भन्ने विषयमा जानकारी लिएको थियो। उपप्रमुख आलमले बीरगंजमा न्यायिक समिति मार्फत आएका मुद्दाहरूलाई सकेसम्म मेलमिलापमार्फत समाधान गर्दै पठाउने प्रयास भइरहेकाले समिति सफल र सक्रिय रूपमा कार्यरत रहेको बताए।

छलफलमा तुलसीपुर उपमहानगरपालिकाका प्रतिनिधिहरूले बीरगंज महानगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो बीरगंज, सफा बीरगंज’ अभियानबारे जिज्ञासा राखेका थिए। उपप्रमुख आलमले यो अभियानमा नगरवासी, जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त प्रयास रहेको उल्लेख गर्दै, बीरगंजलाई प्रवेशद्वार र पर्यटकीय गन्तव्य बनाउन मठमन्दिर, गुम्बा, चिडियाखाना र पार्कहरूको सौन्दर्यीकरणको योजना अघि बढाइएको जानकारी दिए।

“धेरैजसो संरचनाको सौन्दर्यीकरण कार्य सम्पन्न भइसकेको छ भने बाँकी योजनाका लागि डीपीआर तयार भइसकेको छ। अबका दिनमा बीरगंजको रूपान्तरण देखिनेछ,” उपप्रमुख आलमले विश्वास व्यक्त गरे।

छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका न्यायिक समिति सदस्य देवी पोख्रेल र लालमति भण्डारी, बीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख प्रतिज्ञा बैठा, सामान्य प्रशासन महाशाखा प्रमुख सुनिल कर्ण, न्यायिक समिति उजुरी प्रशासक धनबहादुर थापा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको जानकारी बीरगंज महानगरपालिका उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिनुभएको हो।

यस किसिमको अनुभव आदानप्रदान कार्यक्रमले स्थानीय तहबीच सहयोग, समन्वय र कार्यदक्षता वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।