अलौंमा सवारी दुर्घटना: एकको मृत्यु, एक घाइते
अलौंमा सवारी दुर्घटना: एकको मृत्यु, एक घाइते

वीरगंज १० जेष्ठ
वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौंमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दिउँसो करिब ४ः१० बजे वीरगञ्जबाट अलौतर्फ गइरहेको लु. ५ च. ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ७ ख. ९४२९ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१६, नगवा टोलका २२ वर्षीय छोटु साह सोनार गम्भीर घाइते भएका थिए। टाउको र छातीमा गहिरो चोट लागेका उनलाई तुरुन्तै नीलकण्ठ अस्पताल, पावरहाउस वीरगञ्जमा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा दिउँसो ४ः२० बजे उनको मृत्यु भएको पुष्टि गरिएको छ।
सोही मोटरसाइकलको पछाडि सवार वीरगञ्ज–२९, रतनपुर टोलका २९ वर्षीय शुकुरुला अंसारी घाइते भएका छन्। उनको कम्मर र दुवै खुट्टामा चोट लागेको छ र अहिले उनी नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचाररत छन्। अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ।
दुर्घटनापछि प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले मोटरसाइकल, टिपर र चालकलाई नियन्त्रणमा लिएको छ। टिपर चालक बारा, कलैया उपमहानगरपालिका–१६ निवासी ३२ वर्षीय कृष्ण प्रसाद पटेल रहेका छन्।
दुर्घटनाबारे थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय श्रीपुर, पर्सा पठाइएको छ। साथै, घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा थप टोली खटिएको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






