नैतिक आचरणको प्रश्नमा माओवादी नेता भरत साहको राजीनामा, मधेशमा विवाद साम्य हुने अपेक्षा
नैतिक आचरणको प्रश्नमा माओवादी नेता भरत साहको राजीनामा, मधेशमा विवाद साम्य हुने अपेक्षा

जनकपुरधाम
नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्।
उनीमाथि लागेका नैतिक चरित्रसम्बन्धी गम्भीर आरोप, विशेषतः यौन विचलनको विवादले पार्टीभित्र चर्को दबाब सिर्जना भएपछि शीर्ष नेतृत्वको निर्देशनमा उनले पद त्याग गरेका हुन्। यससँगै माओवादी केन्द्र मधेश प्रदेशभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक कलह तत्कालका लागि साम्य भएको देखिएको छ।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर साहले राजीनामा बुझाएको प्रदेशसभा सदस्य सुनिता यादवले पुष्टि गरिन्।
केही महिनाअघि काठमाडौंस्थित पार्टी कार्यालयमा बसेको मधेश प्रदेश संसदीय दलको बैठकमा साहमाथि यौन दुराचारसम्बन्धी आरोप सार्वजनिक भएको थियो। यी आरोपहरूले उनी नेतृत्व संकटको केन्द्रमा परेका थिए। पार्टीको उच्च तहबाटै राजीनामाका लागि दबाब आएपछि उनले अन्ततः पद छोड्न बाध्य भएका हुन्।
स्रोतका अनुसार, केही नेताहरूले साहलाई जोगाउने प्रयास गरे पनि प्रदेशसभाका बहुमत सदस्यहरूले उनलाई हटाउन लगातार दबाब दिँदै आएका थिए। आरोपहरू सतहमा आएपछि करिब १० महिनासम्म संसदीय दलको बैठकसमेत नबोलाइएको जनाइएको छ।
महोत्तरी क्षेत्र नं. १ (ख) बाट निर्वाचित भरत साहको राजीनापछि अब नयाँ संसदीय दलको नेता चयनका लागि चाँडै बैठक बोलाइने तयारी रहेको सुनिता यादवले जानकारी दिइन्। हाल रौतहटबाट निर्वाचित युवराज भट्टराई (समीर) माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका उपनेता छन्। नयाँ नेताको चयनसँगै दलभित्र स्थायित्व आउने र यसअघिका विवादहरू समाधान हुने अपेक्षा गरिएको छ। संभार: मधेश संचार






