रजिया स्मृति प्रतिष्ठानले श्री नेपाल स्काउट निमाविलाई ग¥यो खानेपानीको सामग्रीहरु सहयोग

वीरगंज २ साउन । पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ३ ठूलो इटियाहीमा अवस्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालयमा रजिया स्मृति प्रतिष्ठानले शुक्रवार खानेपानी प्रणाली जडानमा सहयोग गरेको छ ।
घरेलु हिंसाबाट प्रताडित भई ज्यान गुमाएकी रजिया खातुनको स्मृतिमा परिवारजनले परोपकारी कामका लागि स्थापना गरेको रजिया स्मृति प्रतिष्ठानले विद्यालयमा विद्यार्थी र शिक्षकहरूका लागि खानेपानी प्रणाली जडान गरिदिएको हो ।
स्व. रजियाका दाजु तथा प्रतिष्ठानका अध्यक्ष तबरेज अहमदले आफ्नो निजी खर्चमा विद्यालयमा पानी तान्ने विद्युतीय मोटर, १ हजार लिटरको खानेपानी ट्यांकी, पिउन पानीका लागि ५ वटा धाराहरू र विद्यालयको शौचालयमा पनि पाइप लाइन विस्तार गरेर ७ वटा धाराहरू सहयोग गरेका छन् ।
रजिया स्मृति प्रतिष्ठानले खानेपानीका सामग्रीहरु सहयोग गरे पछि विद्यालयले तत्काल पानीको समस्या समाधानका लागि बालुवा, गिटी, सिमेन्ट, टंकी राख्ने स्टेन र ज्याला मजदुरको व्यवस्थापन गरी आजबाट शुभारम्भ गरेको छ ।
विद्यालयमा जडान गरिएको खानेपानी प्रणाली शुक्रबार अध्यक्ष अहमदले उदघाटन गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियालाई औपचारिक रूपमा हस्तान्तरण गरेको विद्यालयका प्रमोद चौरसियाले बताए ।
प्रतिष्ठानले विद्यालयमा जडान गरिदिएको खानेपानी प्रणालीबाट विद्यालयमा अध्ययनरत सयौं विद्यार्थीहरूका साथै शिक्षक–शिक्षिकाहरू पनि लाभान्वित हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौरसियाले बताए ।
घरेलु हिसांबाट प्रताडित भई ज्यान गुमाएकी बहिनी स्वर्गीय रजियाको नामबाट स्थापना गरिएको रजिया स्मृति प्रतिष्ठानले परिवारजनकै आम्दानीबाट बचत गरिएको रकमबाट विभिन्न सामाजिक कार्यहरू गर्दै आएको प्रतिष्ठानका अध्यक्ष अहमदले बताए ।
सो अवसरमा नेपाल एमालेका नेता सलाउदिन अहमद, असलम अंसारी, रमेश साह तेली, मुकलेश राउत गदी लगायत विद्यालयका शिक्षक, शिक्षिका एवं विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।





