सञ्चालनमा आउँदै काठमाडौं नेशनल मेडिकल कलेज

सञ्चालनमा आउँदै काठमाडौं नेशनल मेडिकल कलेज

काठमाडौं ८ साउन

काठमाडौंको घट्टिकुलो, अनामनगरस्थित काठमाडौं नेशनल मेडिकल कलेज आगामी शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।

कलेजका सञ्चालक बसरुद्दीन अन्सारीले नयाँ मेडिकल सेवाको शुभारम्भबारे जानकारी दिँदै, बिरामीलाई गुणस्तरीय, सुलभ र विश्वासिलो सेवा दिने प्रतिवद्धता जनाएका छन् ।

अन्सारी यसअघि नेशनल मेडिकल कलेज २५ वर्षसम्म सञ्चालन गरेका थिए भने पछिल्ला चार वर्ष नेपाल मेडिकल कलेजको सञ्चालनमा संलग्न थिए । अब उनले काठमाडौंको केन्द्रमा नयाँ मेडिकल कलेजमार्फत सेवा विस्तार गर्न लागेका हुन् ।

उनका अनुसार, उक्त कलेजबाट बिरामीले मेडिकल सर्जरी, गाइनोपेडिया, न्युरो, थाइराइड लगायतका सुपर स्पेसलाइज्ड सेवा पाउने छन् ।

आवश्यक मेडिकल उपकरणहरूको जडान कार्य भइरहेको र एमआरआई, सिटी स्क्यान जस्ता प्रविधिहरू समेत तीन महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी उनले दिए ।

हालसम्म अस्पतालमा १५ बेडको आइसीयू, १५ बेडको एचडीयू, १५ बेडको नियोनेटल आइसीयू र १६ बेडको इमर्जेन्सी वार्ड तयार भइसकेको छ ।

हाल १७४ बेड क्षमतासहितको संरचना तयार भएपनि, प्रारम्भिक चरणमा १०० बेडको स्वीकृति लिएर सञ्चालनमा ल्याइने भएको छ ।

विदेश पलायन रोक्ने र गुणस्तरीय सेवा दिने उद्देश्य अन्सारीले पछिल्लो समय ठूलो संख्यामा नेपाली विद्यार्थीहरू मेडिकल शिक्षा तथा उपचारको लागि विदेशिने क्रम बढिरहेको उल्लेख गर्दै, त्यस प्रवृत्तिमा रोक लगाउने उद्देश्यले आफ्ना प्रयास अगाडि बढाएको बताए ।

उनले भने, ‘हामी सुविधा र सेवामा कुनै सम्झौता गर्ने छैनौं । हाम्रो दर सरकारी दरभन्दा अधिकतम १० प्रतिशत मात्र माथि हुने छ भने निजी अस्पतालभन्दा ५० प्रतिशतसम्म सस्तो हुनेछ ।’

सञ्चालक अन्सारीका अनुसार, काठमाडौं उपत्यकामा धेरै सुविधायुक्त अस्पतालहरू भएपनि नेशनल मेडिकल कलेज सेवा भावनाका साथ फरक पहिचान लिएर अघि बढ्ने छ । ‘यहाँ रहेका नर्स, डाक्टर सबै अनुभवी र दक्ष छन्,’ उनले भने ।

उनले आफु सेवा सेवा दिन आएको बताउँदै नाफा कमाउने उद्देश्य नरहेको बताए । उनले २५ वर्षको अनुभवका आधारमा बिरामीलाई अत्याधुनिक सेवा प्रदान गर्ने बताए । ‘हामी सेवा दिन आएका हौं, नाफा कमाउने उद्देश्य छैन । २५ वर्षको अनुभवका आधारमा यहाँका बिरामीलाई अत्याधुनिक सेवा प्रदान गर्नेछौं । हरेक तहमा गुणस्तर कायम राखिनेछ ।’

अन्सारीले सम्पूर्ण जनसमुदाय र सम्भावित सेवाग्राहीलाई एकपटक सेवा उपयोग गरेर तुलना गर्न आग्रह गरेका छन् । उनले जनताको अपेक्षा अनुसारको सेवा दिन हामी तयार रहेको बताए ।

‘हामीसँग सुविधा, दर र सेवा तीनै क्षेत्रमा सन्तुलन छ । जनताको अपेक्षा अनुसारको सेवा दिन हामी तयार छौं । हाम्रो उद्देश्य पैसा होइन, प्रतिष्ठा र विश्वास कमाउनु हो।’ काठमाडौंको मुटुमा अवस्थित काठमाडौं नेशनल मेडिकल कलेजले सुलभ, गुणस्तरीय र भरपर्दो सेवा दिने अपेक्षा गरिएको छ ।

चिकित्सा क्षेत्रमै लामो अनुभव बोकेका अन्सारीले नेतृत्व गरेको यो संस्थाले बजारमा प्रतिस्पर्धा मात्र होइन, सेवा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।