तिब्बती शरणार्थीको सुरक्षाबारे चासो, देउवालाई अमेरिका भ्रमणको निम्तो

नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्। अमेरिकी उपमन्त्री जियाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरेकी हुन्। जिया नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री हुन्।
उपमन्त्री जियाले नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको मानवअधिकार र उनीहरुको सुरक्षाका बारेमा प्रधानमन्त्री देउवासँग चासो राखेको बालुवाटार स्रोतले बताएको छ। उपमन्त्री जिया शनिबार मध्यान्ह जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण भ्रमणमा गएकी थिइन्। जियाले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तोसमेत दिएकी उच्च स्रोतले बताएको छ।

नेपालमा बसोबास गर्दै आएका केहि तिब्बती शरणार्थीहरुसँग शणनार्थी परिचय पत्र नहुँदा उनीहरु मानव अधिकारका सामान्य अधिकारबाट समेत बञ्चित हुँदै आएको तिब्बती समूदायका अगुवाहरुले बताएका छन्। अमेरिकाले परिचयपत्र नपाएका तिब्बती शरणार्थीहरुलाई तत्काल शणनार्थी परिचय पत्र दिन राजनीतिक तथा कुटनीतिक रुपमा लबिङ गर्दै आएको छ। गत बुधबार नेपालका लागि चीनियाँ राजदूत होउ यान्छिले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर अमेरिकी उपमन्त्री जियाको भ्रमणबारे चासो राखेकी थिइन्।

यसैबीच अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक जियाले परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गरेकी छन् । भेटवार्तामा नेपाल र अमेरिका कुटनीतिक सम्बन्ध, नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीहरुको मानवअधिकारको बारेमा छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।