सरकार हत्या–आतंकमा उत्रिनु दुःखद भन्दै प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं २३ भदौ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शान्ति, सु–व्यवस्था कायम गर्नु÷गराउनुको साटो ओली नेतृत्वको वर्तमान सरकारले उल्टै नेपाली नागरिकको हत्या–आतंकमा उत्रिनु दुःखद रहेको जनाउदै उनले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
जेन–जी पुस्ताको आजको प्रदर्शनमा कलिला युवाहरुमाथि बर्बरतापूर्वक सरकारले नरसंहार मच्चाएको साहको ठहर छ । भ्रष्टाचार, अनियमितता, कुशासन, सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णय बिरुद्ध आवाज उठाउँदा शान्तिपूर्ण आन्दोलनमा सरकारले ताकिताकि गोली चलाउदा दर्जनौँ युवाहरुको मृत्यु हुनुका साथै सयौँ युवाहरु घाईते भएका छन् ।
‘आज सेप्टेम्बर–८ मा भएको ‘जेन–जी’ पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा नेपाल सरकारको तर्फबाट गोली लागेर दर्जनौं प्रदर्शनकारीको मृत्यु र सयौंको संख्यामा घाईते भएको खबरले मर्माहत भएको छु । कलिला उमेरका युवाहरूको यो बर्बरतापुर्ण नरसंहारले लोकतन्त्र र कानुनी शासनको उपहासमात्र नभई मानवताकै हत्या भएको छ । अहिलेको २१औं शताब्दीमा शान्ति, सु–व्यवस्था कायम गर्नु÷गराउनुको साटो केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उल्टै आफ्नो नागरिकको हत्या–आतंकमा उत्रिनु दुःखद हो । प्रधानमन्त्रीले यो नरसंहारको जिम्मा लिई देशमा शान्ति, अमनचयन, सुशासन र स्थिरता कायम गर्न÷गराउनको लागि पनि तत्काल राजीनामा गर्न जोडदार माग गर्दछु । साथै, प्रहरीको गोली लागेर मृत्युवरण गरेका महान युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना तथा शोक सन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ आजपा अध्यक्ष साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।