पर्सागढी मन्दिरमा पूजा गरेर सुशील साह कानुले थाले चुनावी अभियान
पर्सागढी मन्दिरमा पूजा गरेर सुशील साह कानुले थाले चुनावी अभियान

बिरगंज, ०८ माघ
पर्सा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानुले ऐतिहासिक पर्सागढीस्थित पारसनाथ बाबाको मन्दिरमा पूजापाठ गरी आफ्नो चुनावी अभियानको औपचारिक शुभारम्भ गरेका छन्।
अंग्रेज सेनाविरुद्ध गोर्खाली सेनाले विजय हासिल गरेको ऐतिहासिक महत्व बोकेको पर्सागढी मन्दिरमा बिहीबार बिहान दर्शन तथा पूजापाठ गरेपछि कानुले स्थानीय मतदातासँग भेटघाट गर्दै प्रचार अभियान सुरु गरेका हुन्।
पूजापाठपछि कानु पर्सागढी नगरपालिका वडा नम्बर ४, ५ र ६ मा पुगेर स्थानीयवासीसँग अन्तर्क्रिया तथा छलफलमा सहभागी भएका थिए।
अभियानको सुरुवातबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कानुले पर्सागढी नेपाली स्वाभिमान, वीरता र पहिचानको प्रतीक रहेको उल्लेख गरेका छन्। पुर्खाले जोगाएर राखेको राष्ट्रिय गरिमा र पहिचानलाई बलियो बनाउँदै देशको समृद्धि र नागरिकको सुरक्षित भविष्यका लागि आफू अघि बढेको उनको भनाइ छ।
ऐतिहासिक स्थलबाट चुनावी अभियान सुरु गर्दा आफू थप ऊर्जाशील र प्रेरित भएको बताउँदै कानुले अभियान सफल बनाउन मतदाताको साथ र सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन्।
पर्सा–२ निर्वाचन क्षेत्रअन्तर्गत वीरगन्ज महानगरपालिकाका ३२ मध्ये १३ वडा, पर्सागढी नगरपालिकाका सबै ९ वडा तथा बहुदरमाई नगरपालिकाका वडा नम्बर २, ३, ४ र ६ गरी कुल २६ वडा पर्दछन्।






