शहिदहरूको बलिदानीले नै नेपाल स्वतन्त्र र सार्वभौम रहँदै आएको छ : प्रदीप यादव

शहिदहरूको बलिदानीले नै नेपाल स्वतन्त्र र सार्वभौम रहँदै आएको छ : प्रदीप यादव

वीरगन्ज, १६ माघ

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरूको त्याग र बलिदानीकै कारण नेपाल आजसम्म स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा स्थापित रहन सफल भएको बताएका छन्।

शहिद दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवले देशको राजनीतिक परिवर्तनका लागि विभिन्न आन्दोलनमा ज्यान आहूती दिएका सम्पूर्ण शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले देश, लोकतन्त्र र जनअधिकारका लागि अमूल्य जीवन बलिदान दिने शहिदहरू सधैं नेपाली जनताको प्रेरणाको स्रोत रहने उल्लेख गरेका छन्।

“देश, लोकतन्त्र र जनअधिकारका लागि आफ्नो अमूल्य जीवन अर्पण गरेका सम्पूर्ण शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,” यादवले आफ्नो सन्देशमा लेखेका छन्।

पर्सा–१ का निवर्तमान सांसदसमेत रहेका यादवले शहिदहरूले देखाएको सपना साकार पार्नु सबै नेपालीको साझा दायित्व भएको बताए। शहिदहरूको कुर्बानीकै कारण आज प्रत्येक नेपालीले आफूलाई सार्वभौम नागरिकका रूपमा गर्व गर्न पाएको उनको भनाइ छ।

उनले राणा शासन, पञ्चायती शासनविरुद्धको आन्दोलन, पहिलो र दोस्रो जनआन्दोलन, मधेस आन्दोलन तथा हालैको जेन–जी आन्दोलनमा शहादत प्राप्त गर्ने सबै शहिदहरूको बलिदानलाई शहिद दिवसको दिन नमन गर्दै शहिदहरूले देखाएको मार्गमा सधैं हिँड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।