देश जलाउनेहरूलाई जनताले यही चुनावमा इन्साफ गर्नेछन् : पूर्वमन्त्री अजयकुमार चौरसिया
देश जलाउनेहरूलाई जनताले यही चुनावमा इन्साफ गर्नेछन् : पूर्वमन्त्री अजयकुमार चौरसिया

वीरगन्ज, २६ माघ
पर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसियाले देशमा अशान्ति फैलाउने र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई जनताले यही चुनावमार्फत जवाफ दिने बताएका छन्।
सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा आयोजित कांग्रेसको वडास्तरीय भेलालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले जनतालाई रैतिबाट मालिक बनाउने ऐतिहासिक काम गरेको दाबी गरे। उनले कांग्रेस कहिल्यै देश, सरकारी संरचना वा नेताहरूको घर जलाउने राजनीति नगर्ने पार्टी भएको स्पष्ट पारे।
भेलामा बोल्दै चौरसियाले जेनजी आन्दोलनका नाममा भएका तोडफोड र आगजनी घटनामा बाह्य घुसपैठ भएको आरोप लगाउँदै भने, “सर्वोच्च अदालत, सिंहदरबार, पार्टी कार्यालय र नेताका घर जलाउनेहरू वास्तविक आन्दोलनकारी थिएनन्, ती घुसपैठिया थिए। देश जलाउनेहरूलाई जनताले चिनिसकेका छन् र यसको इन्साफ यही चुनावमा हुनेछ।”
उनले देशमा अशान्ति फैलाउने र त्यही कार्यमा खुशी मनाउने व्यक्तिहरू अहिले विकास र समृद्धिको भाषण गर्दै हिँड्नु हास्यास्पद भएको टिप्पणीसमेत गरे।
कांग्रेसका बुथ सभापति विजय सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, कांग्रेस पर्साका उपसभापति अशोक गुप्ता, वीरगन्ज महानगरका कांग्रेसका पूर्व सभापति भोला कलवार, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह तथा वडाध्यक्षका पूर्व प्रत्याशी ओमी गुप्ता लगायतको उपस्थिति रहेको थियो।






