पार्टी परिवर्तन : विश्वासघातबाट जन्मिएको विवेकको निर्णय।
पार्टी परिवर्तन : विश्वासघातबाट जन्मिएको विवेकको निर्णय।

सिराहा २६ माघ
२०७९ सालको चुनाव केवल मत हाल्ने प्रक्रिया मात्र थिएन, त्यो हाम्रो आत्मसम्मान, विश्वास र भविष्यसँग गाँसिएको संघर्ष थियो। गाउँ–समाजमा बदनाम भएर, गली–गली हिँडेर, आफ्नै मान्छेबाट हेपाइ सहेर पनि हामी उभिएका थियौँ। परिवर्तनको आशामा, विचारको इमानदारीमा विश्वास गरेर हामी लडेका थियौँ।
तर समय बित्दै जाँदा ती नै अनुहारहरू—जसका लागि हामीले समाजका सत्ता, सामन्तवाद र घर–परिवारको दबाबसँग जुध्यौँ—सत्ताको स्वाद चाखेपछि अर्कै बने। आदर्शका कुरा गर्ने मुखहरूबाट कमिसनको गन्ध आउन थाल्यो। राजनीति सेवाको साधन होइन, सौदाबाजीको व्यापार जस्तो हुन थाल्यो। त्यो क्षणदेखि घृणा पैदा भयो—व्यक्तिप्रति होइन, प्रवृत्तिप्रति।
सबैभन्दा पीडादायी कुरा के थियो भने, उनीहरू सत्तामा पुगेपछि हामीजस्ता सचेत नागरिकसँग विचारको बहस होइन, राजनीति वार्गेनिङ्ग गर्न थाले। समर्थन साटासाट, मौनताको मूल्य, र अवसरको लेनदेन—यही राजनीति बनाइयो। “आफ्नो” भनेर चिनिएका मानिसहरूले नै पछाडिबाट घाँटी रेटे, त्यो पनि थाहै नदिई। विश्वासघात चर्को आवाजमा हुँदैन रहेछ, त्यो त मौनतामै हुन्छ।
हामीलाई हेर्ने दृष्टि पनि बदलियो। बराबरी नागरिकको हैसियतमा होइन, विभेद गर्ने सोच र मानसिकताले हेर्न थालियो। प्रश्न सोध्ने चेतनालाई विद्रोह ठानियो, असहमतिको आवाजलाई शत्रुता बनाइयो। यही मानसिकताले हामीलाई बुझायो—समस्या पार्टी होइन, सोच हो।
त्यसैले पार्टी परिवर्तन कुनै अवसरवाद थिएन, त्यो विवेकको निर्णय थियो। आत्मसम्मान जोगाउने संघर्ष थियो। गलत प्रवृत्तिसँग सम्झौता नगर्ने अडान थियो। हामी आज पनि परिवर्तनकै पक्षमा छौँ, तर अब आँखा बन्द गरेर होइन—सचेत भएर, प्रश्न गर्दै, हिसाब माग्दै।
राजनीति व्यक्तिको पूजा होइन, मूल्यको अभ्यास हो। जब मूल्यहरू नै बेचिन्छन्, त्यहाँबाट टाढा हुनु कायरता होइन, साहस हो। र त्यो साहस हामीले रोज्यौँ।




