प्रसौनी गाउँपालिकामाथि निर्वाचन आचारसंहिता उल्लंघनको आरोप, विकास गतिविधि तीव्र
प्रसौनी गाउँपालिकामाथि निर्वाचन आचारसंहिता उल्लंघनको आरोप, विकास गतिविधि तीव्र

बारा २६ माघ
बारा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने प्रसौनी गाउँपालिकामाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ। स्थानीय बासिन्दाका अनुसार गाउँपालिकाले मतदातालाई आकर्षित गर्ने उद्देश्यले पछिल्ला दिनहरूमा विभिन्न विकास निर्माणका गतिविधि तीव्र रूपमा सञ्चालन गरिरहेको छ।
स्थानीय स्रोतका अनुसार वडा नं. २, ५ र ६ अन्तर्गत पर्ने बेलहिया, प्रष्टोका र भलुही चौक क्षेत्रका विभिन्न स्थानमा बोरिङ जडान तथा घरघरमा धारा विस्तार गर्ने कार्य धमाधम भइरहेको छ। उक्त काम निर्वाचित जनप्रतिनिधि तथा गाउँपालिका प्रमुखको अगुवाइमा भइरहेको स्थानीयले बताएका छन्।
निर्वाचन नजिकिँदै गर्दा सञ्चालन गरिएका यस्ता गतिविधिले निर्वाचन आचारसंहिताको मर्म विपरीत हुने भन्दै केही स्थानीय तथा राजनीतिक वृत्तमा चासो व्यक्त गरिएको छ। यद्यपि गाउँपालिकाको तर्फबाट यस विषयमा आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।
यस सम्बन्धमा निर्वाचन आयोग वा सम्बन्धित निकायले आवश्यक अनुगमन तथा छानबिन गर्नुपर्ने माग समेत स्थानीय स्तरबाट उठिरहेको छ।





