पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रौतहट–१ मा गरेको विकासको प्रमुख काम सार्वजनिक
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले रौतहट–१ मा गरेको विकासको प्रमुख काम सार्वजनिक

प्रेमचन्द्र झा /रौतहट ०१ फागुन
रौतहट निर्वाचन क्षेत्र नं. १ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालद्वारा सम्पन्न गरिएका विकास निर्माणका कामहरू यतिबेला स्थानीय स्तरमा चर्चा र चासोको विषय बनेका छन्। क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै नेपालले आफ्नो कार्यकालमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, यातायात तथा खानेपानी जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय पहल गरेका छन्।
क्षेत्रका विभिन्न स्थानहरू—जेठरहिया, मलनिया, मिठुअवा र जयनगरमा फलामे पुल निर्माण गरिनुका साथै बागमती नदीमा तटबन्धन निर्माण गरिएको छ। गौर–चन्द्रनिगाहपुर सडकलाई चार लेनमा विस्तार गर्ने कार्यले यातायात सहज बनाएको छ भने गौर–पीप्रा सडक पूर्णरूपमा कालोपत्रे गरिएको छ।
गौर र राजदेवि नगरपालिकामा ५१ किलोमिटर सडक शिलान्यास गरी कालोपत्रे सम्पन्न गरिएको छ। त्यस्तै, सुकदेव चौक–पीप्रा सडक खण्डअन्तर्गत झाँझ नदीमा पक्की पुल निर्माण गरिएको छ भने जयनगर–धरमपुर सडकमा पनि पक्की पुल तथा सडक निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ। गौरमा नेपाल–भारत सीमा पुल निर्माणले अन्तरदेशीय आवतजावत थप सहज बनाएको छ।
शिक्षा तथा सामाजिक पूर्वाधारतर्फ पनि उल्लेखनीय प्रगति भएको छ। पीप्रामा सरस्वती उच्च माध्यमिक विद्यालयको भवन निर्माण, टाउन हल निर्माण, गौर–२ मा टाउन हल, गौर–४ मा विवाह मण्डप तथा झोलुङ्गे पुल निर्माण गरिएको छ। साथै राजर्षि जनक विश्वविद्यालयअन्तर्गत गौरमा पण्डित मंगल कुमार उपाध्याय प्राविधिक कलेज स्थापना गरिएको छ भने राजदेविमा नर्सिङ कलेज स्थापना गरी सञ्चालनमा ल्याइएको छ।
कृषि तथा आर्थिक क्षेत्रलाई सुदृढ बनाउन गौरमा कोल्ड स्टोर निर्माण, कृषि सेवा शिक्षण केन्द्र स्थापना तथा गौर र राजदेवि नगरपालिकामा कृषि एम्बुलेन्सको व्यवस्था गरिएको छ। गौरमा वरहवा ताल निर्माणका लागि आवश्यक बजेटको व्यवस्थासमेत गरिएको छ, जसले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
खानेपानी तथा आवास क्षेत्रमा पनि महत्वपूर्ण काम भएका छन्। शुद्ध खानेपानीका लागि निर्वाचन क्षेत्रभित्रका प्रत्येक पालिकामा रु. १ करोड बजेट विनियोजन गरिएको छ। जनता आवास कार्यक्रमअन्तर्गत राजदेविमा दलित बस्तीमा घर निर्माण गरिएको छ भने सांसद विकास कोषमार्फत विभिन्न बस्तीहरूमा सडक ढलान गरिएको छ।
त्यस्तै, गौर राइस मिलको जग्गा सार्वजनिककरण गर्न प्रयास भई रहेकोछ। राजदेवि मन्दिरका लागि जमिन खरिद गरी सामुदायिक भवन निर्माण गरिएको छ, जहाँ हाल राजदेवि नगरपालिकाको कार्यालय सञ्चालनमा रहेको छ। विभिन्न गाउँमा सामुदायिक भवन निर्माण कार्यले सामाजिक गतिविधिलाई थप सशक्त बनाएको छ।
स्थानीयवासीहरूका अनुसार यी योजनाहरूले क्षेत्रको भौतिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याएका छन्। रौतहट–१ मा सम्पन्न भएका यस्ता सयौं विकासमुखी योजनामध्ये यी केही प्रमुख कामहरू मात्र हुन्।





