पर्सा–२ मा चुनावी माहोल : उम्मेदवार चौरसिया विरुद्ध नाराबाजीको भिडियो भाइरल (भिडियो सहित)

पर्सा–२ मा चुनावी माहोल : उम्मेदवार चौरसिया विरुद्ध नाराबाजीको भिडियो भाइरल (भिडियो सहित)

वीरगंज ३ फागुन

पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री अजय चौरसिया विरुद्ध स्थानीय युवाहरूले गरेको विरोध प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि सो क्षेत्रको राजनीतिक माहोल फेरि तातेको छ । उक्त घटना शुक्रबार भएको बताइए पनि भिडियो सार्वजनिक भएपछि आइतबार देखि व्यापक चर्चा सुरु भएको हो ।

पर्सागढी नगरपालिका अन्तर्गत झबराहा स्थित इन्दु रिसोर्ट होटलमा नेपाली कांग्रेसको नगरस्तरीय भेला चलिरहेका बेला ब्यानरसहित पुगेका युवाहरूको समूहले होटल बाहिर नाराबाजी गरेका थिए । उनीहरूले “भ्रष्टाचार बन्द गर”, “जवाफ दे”, “पुराना अनुहार होइन, नयाँ नेतृत्व चाहियो” जस्ता नारा लगाउँदै विगतमा गरिएका कामको सार्वजनिक जवाफ माग गरेका थिए ।

पूर्व मन्त्री चौरसियाले संसद बिघटन असंवैधानिक भएको भन्दै संसद पुनस्थापनाको लागि सर्वोच्च अदालतमा मुद्दा दिएका छन् भने अर्को तर्फ सोही सरकारले गराउन लागेको चुनावमा सहभागी भएकोमा यस्ता दोहोरो चरित्रका नेता विरुद्ध बिरोध प्रदर्शन गरिएको स्थानिय एक युवाले यस अनलाईनलाई बताए

प्रदर्शनका क्रममा केहीबेर अवस्था तनावपूर्ण बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । यद्यपि, कुनै अप्रिय घटना नभएको स्थानीय प्रहरीले जनाएको छ ।

विरोधमा उत्रिएका युवाहरूले विगतका कार्यकालमा भएका भनिएका अनियमितताबारे निष्पक्ष छानबिन र सार्वजनिक जवाफदेहिताको माग गरेका छन् । यता, भेलाभित्र सम्बोधन गर्दै उम्मेदवार चौरसियाले आफूमाथि लागेका आरोपहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै अस्वीकार गरेको स्रोतले जनाएको छ ।

शुक्रबारको उक्त दृश्य सार्वजनिक भएसँगै पर्सा–२ मा चुनावी बहस र आरोप–प्रत्यारोप अझ चर्किने संकेत देखिएको छ । स्थानीय तह देखि प्रतिनिधिसभा निर्वाचनसम्मको समीकरणमा यस घटनाले प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।