निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

बारा ४ फागुन

राष्ट्रिय एकता दलले बारा क्षेत्र नं. ४ का उम्मेदवार तथा पार्टी अध्यक्ष विनय यादवमाथि आक्रमणको प्रयास भएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। दलका प्रवक्ता दिलीप पंडितले जारी गरेको प्रेस विज्ञप्तिमार्फत जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. १९ इनरवा बजारमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

दलका अनुसार चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा केही व्यक्तिहरूको समूहले बाटो अवरोध गरी विवाद सिर्जना गरेको थियो। “हिन्दू राष्ट्र” सम्बन्धी राजनीतिक धारणा राखेकै कारण योजनाबद्ध रूपमा डरत्रास फैलाउने प्रयास भएको पार्टीको दाबी छ।

विज्ञप्तिमा स्थानीय नागरिकहरू घटनास्थलमा उपस्थित भएर सम्भावित अप्रिय घटना हुन नदिएको उल्लेख गरिएको छ। पार्टीले उनीहरूलाई धन्यवाद दिँदै लोकतान्त्रिक प्रक्रियामा हिंसा र धम्की अस्वीकार्य हुने बताएको छ।

राष्ट्रिय एकता दलले घटनालाई स्वच्छ निर्वाचन वातावरणमाथिको आक्रमणको रूपमा व्याख्या गर्दै सम्बन्धित निकायसँग चार बुँदे माग अघि सारेको छ। जसमा निष्पक्ष छानबिन, संलग्नमाथि कारबाही, उम्मेदवारको सुरक्षा सुनिश्चितता तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने राज्यको ग्यारेन्टी समावेश छन्।

पार्टीले यस्ता घटनाले आफ्नो राजनीतिक अभियान नरोकिने स्पष्ट पार्दै शान्तिपूर्ण र संवैधानिक माध्यमबाट जनतासामु आफ्नो धारणा राखिरहने जनाएको छ। चुनाव नजिकिँदै गर्दा बारा क्षेत्रमा राजनीतिक गतिविधि तीव्र बनेको र सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको स्थानीयहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।