प्रसौनी सबैठवामा कांग्रेसको महाप्रवेश: ४३१ कार्यकर्ता समेट्दै पर्सा–१ मा अनिल रुङटाको प्रभाव विस्तार
प्रसौनी सबैठवामा कांग्रेसको महाप्रवेश: ४३१ कार्यकर्ता समेट्दै पर्सा–१ मा अनिल रुङटाको प्रभाव विस्तार

वीरगंज १२ फागुन
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसको पक्षमा लहर देखिन थालेको दाबी गरिएको छ। प्रसौनी सबैठवामा बरुसुदिन अन्सारीको सक्रिय पहल र नेतृत्वमा आयोजित विशेष कार्यक्रममा विभिन्न दल परित्याग गर्दै ४३१ जना स्थानीयवासी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
केही दिनअघि मात्र नेकपा एमालेका प्रभावशाली नेता बरुसुदिन अन्सारी कांग्रेसमा प्रवेश गरेका थिए। लामो समयदेखि क्षेत्रको सामाजिक तथा राजनीतिक नेतृत्व गर्दै आएका अन्सारीले विकास र समावेशी राजनीतिलाई प्राथमिकता दिँदै कांग्रेसलाई बलियो बनाउने अभियान सुरु गरेपछि ठूलो संख्यामा कार्यकर्ता प्रवेश गरेको जनाइएको छ। उनले क्षेत्रको विकास, सामाजिक सद्भाव र जनअधिकार सुनिश्चित गर्न कांग्रेस नै उपयुक्त शक्ति भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
पार्टी प्रवेश गर्नेहरूमा एमालेका नेता ताजुदिन अन्सारी, जसपाका प्रदेश सदस्य मुस्ताक अन्सारी, एमाले वडा कमिटी सचिव रेयाज अन्सारी, सद्भावना पार्टीका नेता रामनरेश यादव तथा माओवादीका पूर्व जिल्ला सदस्य अच्छेलाल पासवानलगायत रहेका छन्। नवप्रवेशीहरूलाई खादा तथा टीका लगाएर औपचारिक स्वागत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटाले जनताको विश्वासले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले क्षेत्रको समग्र विकास, रोजगारी सृजना, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। “अब पछाडि पार्ने राजनीति होइन, विकास र समृद्धिको राजनीतिमा अघि बढ्ने समय आएको छ,” उनले भने, “जनताको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।”
कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जर्नादन सिंह क्षेत्रीले पार्टीभित्रको एकता र जनतासँगको निकट सम्बन्ध नै कांग्रेसको मुख्य बल भएको बताए। उनले संगठन सुदृढीकरण र घरदैलो अभियानलाई तीव्र पार्दै आगामी निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा कांग्रेस अग्रपंक्तिमा रहेको उल्लेख गर्दै जिम्मेवार र दूरदर्शी नेतृत्वको आवश्यकता औंल्याए। उपसभापति रामनारायण कुर्मीले सामाजिक सद्भाव, युवा सशक्तीकरण तथा आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।
स्थानीय नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न एकताबद्ध भएर अघि बढ्ने धारणा राखेका छन्। नवप्रवेशीहरूले पनि क्षेत्रको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्व आवश्यक रहेको बताएका छन्।
पार्टी प्रवेश कार्यक्रमपछि पर्सा–१ को राजनीतिक माहोल थप सक्रिय बनेको स्थानीयवासीहरूको भनाइ छ।






