नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा: “मलाई आफ्नै छोरा–भाइ सम्झिनुहोस्”
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा: “मलाई आफ्नै छोरा–भाइ सम्झिनुहोस्”

वीरगंज १३ फागुन
अनिल रुङटाले नगवाको समग्र विकासलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय महिला तथा युवासँग प्रत्यक्ष संवाद गरेका छन्। बिरगंज–१६ की बुथ उपसभापति सावित्री देवीको अध्यक्षतामा आयोजित उक्त भेटघाट कार्यक्रममा नगवाका महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को चुनावी अभियान अन्तर्गत सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै उम्मेदवार रुङटाले नगवाका महिलाहरूलाई आत्मीय सम्बोधन गर्दै भने, “तपाईंहरू मलाई आफ्नो छोरा, भाइ, दाइ, भतिजो सम्झिनुहोस्। कुनै पनि समस्या, गुनासो वा आवश्यक परेमा निर्धक्कसँग मसँग साझा गर्नुहोस्। म सकेसम्म तपाईंहरूको हरेक समस्याको समाधानका लागि प्रतिबद्ध रहनेछु।”
उनले विकास कार्यमा स्थानीयवासीको प्रत्यक्ष सहभागिता अनिवार्य हुने उल्लेख गर्दै नगवामा गरिने हरेक योजना समुदायको सहकार्यमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। “नगवाको कुनै पनि विकास कार्य स्थानीय दिदीबहिनी तथा दाजुभाइहरूको सुझाव र सहकार्यबिना सम्भव छैन,” उनले स्पष्ट पारे।
भेटघाटका क्रममा नगवाका महिलाहरूले विगतमा निर्वाचित प्रतिनिधिहरूप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले पटक–पटक विश्वासका साथ जिताएर पठाउँदा पनि अपेक्षाअनुसार ठोस विकास हुन नसकेको गुनासो गरे। विशेषगरी पोखरी निर्माण, वर्षायाममा हुने जलडुबानको समस्या समाधान तथा आधारभूत पूर्वाधार विकासमा प्रभावकारी पहल नभएको उनीहरूको भनाइ थियो।
केही दिनअघि नगवाका स्थानीय युवाहरूले एमाले उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै विकासभन्दा बढी देखावटी गतिविधिमा सीमित रहेको आरोपसमेत लगाएका थिए। उनीहरूले नगवाको दीर्घकालीन समस्या समाधानमा गम्भीर पहल आवश्यक रहेको बताएका थिए।
उक्त गुनासाहरूको जवाफ दिँदै रुङटाले विगतमा अधुरा रहेका कामहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता दोहोर्याए। “म धेरै बोल्ने मान्छे होइन, म काम गरेर देखाउँछु। मेरो सबैभन्दा ठूलो शक्ति तपाईंहरू नै हुनुहुन्छ,” उनले भने। उनले नगवाको समग्र, दिगो र सहभागितामूलक विकास आफ्नो मुख्य एजेन्डा रहेको पनि स्पष्ट पारे।
कार्यक्रमको अन्त्यमा नगवाका सम्पूर्ण महिलाहरू एकजुट भई रुङटालाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले यसपटक परिवर्तनका लागि संगठित भएर अघि बढ्ने अठोट व्यक्त गरे।
नगवामा बढ्दो जनसहभागिता र प्रत्यक्ष संवादले चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिन्छ। स्थानीय तहको विकास, आधारभूत पूर्वाधार सुदृढीकरण र दीर्घकालीन समाधानको एजेन्डासहित रुङटाको अभियान तीव्र रूपमा अगाडि बढिरहेको बताइएको छ।






