अजय चौरसियाको पक्षमा अलौंमा सयौं मोटरसाइकलसहित शक्ति प्रदर्शन
अजय चौरसियाको पक्षमा अलौंमा सयौं मोटरसाइकलसहित शक्ति प्रदर्शन

वीरगंज १६ फागुन
वीरगंज महानगरपालिका–१७ अलौंमा आज नेपाली कांग्रेसको पक्षमा उत्साहजनक मोटरसाइकल र्याली निकालिएको छ।
बुथ सभापति शिवम् लामिछाने र चुनावी प्रचार–प्रसार संयोजक संजय कुमार गुप्ताको संयुक्त पहलमा आयोजित र्याली पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार अजय कुमार चौरसिया लाई विजयी गराउने उद्देश्यसहित सम्पन्न भएको हो।
अलौं क्षेत्रभित्र आयोजित र्यालीमा सयौंको संख्यामा मोटरसाइकल सहभागी भएका थिए। पार्टीका झण्डा, ब्यानर र नारासहित निकालिएको र्यालीले वडा नम्बर १७ का विभिन्न टोल–चोक परिक्रमा गर्दै चुनावी माहोल तताएको थियो।
स्थानीय युवा तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिताले नेपाली कांग्रेसप्रति जनसमर्थन बलियो बन्दै गएको सन्देश दिएको आयोजकहरूले बताएका छन्।
कार्यक्रमका क्रममा बोल्दै स्थानीय नेताहरूले आगामी निर्वाचनमा विकास, सुशासन, रोजगारी सृजना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारलाई प्रमुख एजेण्डा बनाइएको बताए। उनीहरूले पर्सा क्षेत्र नं. २ को समग्र पूर्वाधार विकास, सडक विस्तार, खानेपानी व्यवस्थापन र युवालाई स्वरोजगारमुखी बनाउने योजनासहित उम्मेदवार चौरसिया चुनावी मैदानमा उत्रिएको उल्लेख गरे।
नेपाली कांग्रेसका कार्यकर्ताहरूले “लोकतन्त्रको रक्षा, समृद्ध पर्साको निर्माण” भन्ने नारासहित घरदैलो तथा प्रचार–प्रसार अभियानलाई तीव्रता दिइरहेको बताएका छन्। मोटरसाइकल र्यालीमार्फत मतदातासम्म पार्टीका एजेण्डा र उम्मेदवारको प्रतिबद्धता पुर्याउने उद्देश्य सफल भएको उनीहरूको दाबी छ।
स्थानीय बासिन्दाहरूले पनि निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू जनतामाझ प्रत्यक्ष पुग्नु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन्।
पर्सा क्षेत्र नं. २ मा चुनावी गतिविधि दिनप्रतिदिन बढ्दै जाँदा राजनीतिक माहोल थप चर्किंदै गएको देखिन्छ।






