अनिल रुङटाको शक्तिशाली उपस्थिति—पर्सा–१ मा दैनिक बढ्दो जनलहर, जिततर्फ स्पष्ट संकेत

अनिल रुङटाको शक्तिशाली उपस्थिति—पर्सा–१ मा दैनिक बढ्दो जनलहर, जिततर्फ स्पष्ट संकेत

वीरगंज १७ फागुन
पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१६ नगवा र नेपाली कांग्रेस क्षेत्र नं. १ को सम्पर्क कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा बसरुदिन अन्सारीको नेतृत्वमा नगवाका १५० जना विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीका नेता तथा प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटाले अबीर र खादा लगाएर औपचारिक रूपमा स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै रुङटाले पर्सा क्षेत्र नं. १ का जनता राजनीतिक रूपमा परिपक्व र सचेत भइसकेको दाबी गरे। विगतका निर्वाचनहरूबाट मतदाताले महत्वपूर्ण पाठ सिकेको उल्लेख गर्दै उनले यसपटक सही नेतृत्व चयन हुने विश्वास व्यक्त गरे।

“जनता अब नझुक्किने अवस्था आइसकेको छ, परिवर्तनको पक्षमा मतदान हुनेछ,” उनले भने। “हामी विकास, सुशासन र समावेशी नेतृत्वको स्पष्ट दृष्टिकोणसहित जनताको बीचमा आएका छौँ। अब पर्साको भविष्य जनताकै सही निर्णयबाट सुनिश्चित हुनेछ।”

रुङटाले पर्सा क्षेत्र नं. १ को समग्र विकासका लागि ठोस कार्ययोजना अघि सारेको बताउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा पारदर्शी सुशासनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। दैनिकजसो भइरहेको पार्टी प्रवेश र बढ्दो जनसमर्थनले आफूहरूको जित सुनिश्चिततर्फ उन्मुख भएको उनको दाबी थियो।

नवप्रवेशीहरूले देशमा स्थिरता, दिगो विकास र लोकतान्त्रिक मूल्यमान्यताको सुदृढीकरणका लागि नेपाली कांग्रेस रोजेको बताएका थिए। कार्यक्रमले पर्सा–१ मा कांग्रेसप्रति बढ्दो आकर्षण र संगठनात्मक सुदृढीकरणको संकेत गरेको नेताहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।