घुमुवा आलमको ग्रिनसिग्नल पछि बाराको बलिरामपुर नाका तस्करीको हब बन्न सफल

अजय चौरसिया /
वीरगंज ९ चैत । बारा जिल्लाको ईलाका प्रहरी कार्यालय प्रसौनी मातहत पर्ने प्रहरी चौकी मुसहर्वाका ईन्चार्ज प्रहरी नायब निरीक्षक नारायण लुईटेलले आफ्ना घुमुवा मार्फत व्यपारीहरु सँग साठगाँठ गरी अवैध असुली कार्यलाई तीब्र पारेको समाचार प्राप्त भएको छ ।
प्रहरी चौकी मुसहर्वाका सई लुईटेल र उनका घुमुवा तस्करीका ज्ञाताका उपनामले परिचित प्रहरी जवान फुलशरिफ आलमको ग्रिनसिग्नलले खुल्लेयाम रुपमा तस्करी भईरहेको जोकोहीले पनि सजिलै देख्न सक्छन् ।
सई लुईटेलले तस्करीको सेटिङ्ग गर्ने जिम्मा उनी आफ्ना विश्वासपात्र दुतको रुपमा रहेका बदनाम घुमुवा जवान आलमलाई दिएको समाचार स्रोतले जनाएको छ ।
बारा र पर्साको सिमानाका संँग जोडिएको भारतीय प्रसिद्ध बजार रक्सौलबाट तस्करहरुले बलिरामपुर नाका भएर कपडा, हार्डवेयर, रजनीगन्धा, भैसी, चिनी, दुध पाउडर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, स्पेयर पार्टस, माछा, लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु घुमुवा आलमकै संरक्षणमा निर्वाध रुपमा नेपाल भित्रिरहेको समाचार स्रोतले जनाएको छ ।
ती स्रोतका अनुसार ठूला तस्करहरु दिपक, भोला, सन्तोषले कपडा र सुरेन्द्रले कपडा र माछाको लाईन लिए वापत घुमुवा आलमलाई मासिक करिब ३ लाख दिने गरेका छन् भने अन्य खुद्रा तस्करहरु सँग आलमले सामान अनुसारको दररेट तोकी मासिक रुपमै करिब ५ लाख सम्म रकम असुलने गरेका छन् ।
मुसहर्वा सिमानाकाबाट तस्करीका समान बाराको सदरमुकाम कलैया, परवानिपुर, जितपुर, सिमरा, पोखरा र काठमाडौं जस्ता नेपालको विभिन्न शहरहरुमा पुग्ने गरेको छ ।
प्रहरी प्रशासनको काम अवैध रुपमा भईरहेको तस्करी रोक्नु हो तर त्यसको ठिक उल्टा प्रहरी चौकी मुसहर्वाका ईन्चार्ज लुईटेल र उनका घुमुवा आलमले तस्करहरु सँग सेटिङ मिलाएर तस्करीको लाईन दिएर कमाउ धन्दामा लागेको बताईएको छ ।
घुमुवा आलमको प्रहरी चौकी मुसहर्वामा घुमुवाकै रुपमा यो दोस्रो कार्यकाल रहेको छ । बिगत करिब डेढ बर्ष पहिलका प्रहरी चौकी मटिअर्वामा घुमुवा बसी तस्कर र तस्करी सम्बन्धि विज्ञता हासिल गरिसके पछि घुमुवा आलम करिब ८÷९ महिना पहिला प्रहरी चौकी मुसहर्वामा आई घुमुवाको रुपमा काम गर्दा गर्दै बदनाम भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बारामा फिर्ता बोलाईएको थियो । करिब एक महिना जिल्ला प्रहरी कार्यालय बारामा रही प्रहरी चौकी मुसहर्वामा सई लुुईटेल आएपछि उनी आफ्नो पद र पावरको बलमा बदनाम घुमुवा आलमलाई पुनः मुसहर्वामै बोलाई तस्करहरु सँग तस्करी वापतको अवैध रकम असुली गराई रहेको समाचार स्रोतले जनाएको छ ।
एक प्रहरी श्रोतका अनुसार मुसहर्वा नाका हालको समयमा तस्करहरूको अखडा र तस्करीको हबको रुपमा रूपान्तरण भएको बारे दुई मत नरहेको बताए । उनले आफ्नो संगठनको बिरोधमा सार्वजनिक रुपमा बोल्न नमिल्ने बताउदै आफ्नो नाम गोप्य राख्ने सर्तमा मुसहर्वाको बलिरामपुर हुदै दर्जनौं व्यक्तिहरुको समुहलाई तस्करीको लाइन दिइएको बताए ।
प्रहरीकै सहयोग र संरक्षण पाए पश्चात ठुला बडा तस्करहरूको रोजाईमा बलिरामपुर नाका पर्दै आएको स्थानियहरुको भनाई रहेको छ ।
तसर्थः यसतर्फ बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर लगायत प्रहरी संगठनको माथिल्लो निकायको ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।