मधेशमा गुटखा आतंक: प्रतिबन्धको माग गर्दै सरकारलाई ज्ञापनपत्र 

मधेशमा गुटखा आतंक: प्रतिबन्धको माग गर्दै सरकारलाई ज्ञापनपत्र 

जनकपुरधाम ११ चैत

मधेश प्रदेशमा गुटखा (पानपराग लगायत) को उत्पादन, बिक्री तथा प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै राष्ट्रिय एकता दलले प्रदेश सरकारसमक्ष ज्ञापनपत्र पेश गरेको छ।

दलका प्रदेश इन्चार्ज मनीष पुर्बेले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै बुझाएको ज्ञापनपत्रमा मधेशमा गुटखा सेवनको अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको उल्लेख गरिएको छ। विभिन्न ब्रान्डका गुटखाको उत्पादन, बिक्री तथा उपभोग तीव्र रूपमा बढ्दै जाँदा यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको दाबी गरिएको छ।

विशेषगरी युवावर्गमा गुटखा सेवनको लत तीव्र गतिमा फैलिँदै गएको भन्दै यसले मुख, घाँटी लगायतका अंगमा क्यान्सर जस्ता घातक रोगको जोखिम बढाएको उल्लेख गरिएको छ। यसकै कारण हजारौं परिवार आर्थिक, सामाजिक तथा मानसिक समस्यामा परेको तथा प्रदेशको मानव स्रोत र उत्पादकत्वमा समेत नकारात्मक प्रभाव परेको जनाइएको छ।

ज्ञापनपत्रमार्फत राष्ट्रिय एकता दलले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ। जसमा गुटखाको उत्पादन, आयात, बिक्री तथा वितरणमा पूर्ण प्रतिबन्ध, अवैध आयात तथा ओसारपसारमा कडाइ, जनचेतनामूलक अभियान सञ्चालन, प्रभावित बिरामीलाई सहुलियत उपचार तथा बीमा व्यवस्था, र तत्काल प्रतिबन्ध सम्भव नभए कडा कर तथा नियमन लागू गर्ने विषय समावेश छन्।

दलले प्रदेश सरकार जनस्वास्थ्यप्रति संवेदनशील बन्दैछिटो र प्रभावकारी निर्णय लिने विश्वास व्यक्त गरेको छ। उक्त ज्ञापनपत्र २०८२ साल चैत ११ गते पेश गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।