रामनवमीको अवसरमा रंगटोलीमा रामदरबारको भव्य प्राण प्रतिष्ठा, सयौं भक्तको सहभागिता

रामनवमीको अवसरमा रंगटोलीमा रामदरबारको भव्य प्राण प्रतिष्ठा, सयौं भक्तको सहभागिता

राजेश शर्मा

विराटनगर १३ चैत्र

रामनवमीको पावन अवसरमा रंगटोलीस्थित श्री राम जानकी मन्दिरमा आज रामदरबारका विग्रहहरूको विधिपूर्वक स्थापना गरिएको छ। भगवान राम, सीता, लक्ष्मण तथा हनुमानजीका मूर्तिहरूको प्राण प्रतिष्ठा धार्मिक विधिअनुसार सम्पन्न भएको हो।

तीन दिनदेखि निरन्तर रूपमा सञ्चालन गरिएको धार्मिक अनुष्ठान हवनसँगै आज विधिवत् समापन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा मूर्तिहरू काबराजी ग्रुपका घनश्यामजी काबरा परिवारले प्रदान गरेका थिए।

कार्यक्रमको आरम्भमा खोलाबाट पवित्र जल ल्याएर सयौं श्रद्धालु भक्तजनहरूले भव्य कलश यात्रा गरेका थिए। त्यसपछि विधिपूर्वक पूजाआजा गरी मूर्ति स्थापना गरिएको हो।

मन्दिर संरक्षक समितिका अध्यक्ष शिवनारायण माझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मूर्ति दाता घनश्याम काबराज्यू प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, श्रीहरिका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरल, सम्भाग अध्यक्ष विद्यानन्द माझी तथा वडा अध्यक्ष रमेश भगत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको अन्त्यमा उपस्थित भक्तजनका लागि भव्य महाप्रसाद (भण्डारा) को समेत आयोजना गरिएको थियो। धार्मिक आस्था र सामाजिक एकताको सन्देश दिने यस कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।