राष्ट्रिय एकता दलद्वारा सीमा नाकामा कम्तीमा ५ हजार रुपैयाँसम्म भन्सार छुटको माग

राष्ट्रिय एकता दलद्वारा सीमा नाकामा कम्तीमा ५ हजार रुपैयाँसम्म भन्सार छुटको माग

काठमाडौं, २० जेठ

राष्ट्रिय एकता दलले स्थल सीमा नाकाबाट आवतजावत गर्ने नेपाली नागरिकका लागि लागू गरिएको भन्सार छुट सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्न सरकारसँग माग गरेको छ।

दलका अध्यक्ष विनय यादवद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले हालै सीमा नाकामा निजी प्रयोगका वस्तुमा ५०० रुपैयाँसम्म भन्सार छुट दिने व्यवस्था गरेको भए पनि उक्त सीमा पर्याप्त र व्यवहारिक नभएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा यसअघि १०० रुपैयाँको सीमा निर्धारण गरिएकामा व्यापक जनगुनासो र विरोधपछि सरकारले छुटको सीमा ५०० रुपैयाँ पुर्‍याएको भए पनि वर्तमान आर्थिक अवस्था तथा सीमावर्ती क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्न नसकेको दाबी गरिएको छ।

राष्ट्रिय एकता दलले नेपाल–भारतबीचको ऐतिहासिक, सामाजिक तथा पारिवारिक सम्बन्धलाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवनयापन, शिक्षा, स्वास्थ्य उपचार तथा पारिवारिक आवश्यकताका लागि सीमापार आवतजावत हुने यथार्थलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ।

दलले कम्तीमा ५ हजार रुपैयाँसम्मका निजी प्रयोगका सामानमा भन्सार महसुल छुट प्रदान गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। यस्तो व्यवस्थाले सीमावर्ती क्षेत्रका नागरिकलाई राहत पुग्नुका साथै अनावश्यक झन्झट, विवाद तथा प्रशासनिक बोझ समेत कम हुने विश्वास व्यक्त गरिएको छ।

विज्ञप्तिमार्फत राष्ट्रिय एकता दलले सीमावर्ती नागरिकका समस्या र आवश्यकतालाई केन्द्रमा राखी व्यावहारिक, जनमैत्री तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरेको छ।

साथै, जनभावना विपरीतका यस्ता व्यवस्थालाई निरन्तरता दिइएमा नागरिकको अधिकार र हितको पक्षमा आवश्यक लोकतान्त्रिक संघर्षका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दलले दिएको छ। उक्त विज्ञप्तिमा अध्यक्ष विनय यादवले “नेपाल आमाको जय” भन्दै सरकारसमक्ष आफ्नो माग पुनः दोहोर्‍याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।