द्वितीय उपाध्यक्ष पदका उम्मेदवार मगरद्वारा व्यवसायीको सम्मान, सुरक्षा र एकताको पक्षमा प्रतिबद्धता
द्वितीय उपाध्यक्ष पदका उम्मेदवार मगरद्वारा व्यवसायीको सम्मान, सुरक्षा र एकताको पक्षमा प्रतिबद्धता

काठमाडौं २४ जेष्ठ
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधि तीव्र बनेको छ। यही जेठ २४ गते हुने निर्वाचनमा भर्सा मेनपावर प्रालिका सञ्चालक तथा वैदेशिक रोजगार क्षेत्रमा स्थापित व्यवसायी रविन मेगा मगर द्वितीय उपाध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। उनी लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनको तर्फबाट आधिकारिक उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन्।
लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय मगर व्यवसायीका समस्या, चुनौती र सम्भावनाबारे गहिरो अनुभव राख्ने व्यवसायीका रूपमा परिचित छन्। व्यवसायीको हकहित, पेशागत सुरक्षा, संस्थागत गरिमा र व्यवसायमैत्री वातावरण निर्माणका लागि निरन्तर आवाज उठाउँदै आएका मगरले यसपटक संघको नेतृत्व तहमा पुगेर अझ प्रभावकारी रूपमा काम गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
उनले वैदेशिक रोजगार क्षेत्रलाई केवल व्यवसायको रूपमा मात्र नभई लाखौं नेपाली युवाको भविष्य, परिवारको आर्थिक अवस्था र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा हेर्नुपर्ने बताएका छन्। यही कारण व्यवसायी, श्रमिक र सरकारबीचको समन्वयलाई सुदृढ गर्दै वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ।
लोकतान्त्रिक समूहले “वैदेशिक रोजगार व्यवसायीको हक, हित र सम्मान, लोकतान्त्रिक समूहको निरन्तर अभियान” भन्ने मूल नारासहित चुनावी अभियान सञ्चालन गरिरहेको छ। अध्यक्ष पदका उम्मेदवार मेघनाथ भुर्तेलको नेतृत्वमा रहेको उक्त समूहले व्यवसायीको अधिकार संरक्षण, वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधार, श्रमिकमैत्री वातावरण निर्माण तथा संघको संस्थागत सुदृढीकरणलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको छ।
द्वितीय उपाध्यक्ष पदका उम्मेदवार मगरले वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न समयमा भोग्दै आएका प्रशासनिक जटिलता, नीतिगत अस्पष्टता तथा व्यवसाय सञ्चालनका क्रममा देखिने व्यावहारिक समस्याको समाधानका लागि संघले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका छन्। व्यवसायीको सम्मान र अस्तित्वसँग जोडिएका विषयमा संघलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनु आजको आवश्यकता भएको उनको धारणा छ।
मगरले वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्य गर्दै स्वच्छ, मर्यादित र व्यवस्थित व्यवसायिक वातावरण निर्माणका लागि आफू सदैव प्रतिबद्ध रहने बताएका छन्। व्यवसायीबीच एकता, सहकार्य र पारस्परिक विश्वास कायम गर्दै संघलाई सबै व्यवसायीको साझा चौतारीका रूपमा स्थापित गर्नुपर्ने उनको जोड छ।
उनले श्रमिक सुरक्षालाई पनि उत्तिकै महत्व दिएका छन्। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सुरक्षित, सम्मानजनक र सीपअनुकूल रोजगारी सुनिश्चित गर्न सरकार, व्यवसायी र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताएका छन्। श्रमिकको हित सुरक्षित हुँदा मात्र व्यवसाय पनि दिगो र सम्मानित बन्न सक्ने उनको विश्वास छ।
व्यवसायीमाझ सरल, सहयोगी र जिम्मेवार व्यक्तित्वका रूपमा परिचित मगरले संघभित्र पारदर्शिता, सुशासन र जवाफदेहितालाई संस्थागत गर्दै व्यवसायीको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघलाई कुनै सीमित समूहको होइन, सम्पूर्ण व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ।
आसन्न निर्वाचनलाई संघको नेतृत्व चयन मात्र नभई वैदेशिक रोजगार क्षेत्रको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै मगरले सम्पूर्ण व्यवसायीहरूलाई लोकतान्त्रिक समूहका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरेका छन्।
उनका अनुसार व्यवसायीको सम्मान, पेशागत सुरक्षा, संस्थागत सुदृढीकरण, पारदर्शी नेतृत्व र साझा हितको संरक्षणका लागि आफूले उठाएका एजेन्डा आगामी दिनमा संघको कार्यदिशा बन्नेछन्। यही प्रतिबद्धतासहित चुनावी मैदानमा रहेका रविन मेगा मगरलाई व्यवसायी वृत्तमा अनुभवी, इमानदार, व्यवसायीमैत्री र परिणाममुखी नेतृत्वका रूपमा हेरिएको छ।






