मेक्सिकोबाट नेपालमा लगानी र पर्यटनको सशक्त सन्देश
मेक्सिकोबाट नेपालमा लगानी र पर्यटनको सशक्त सन्देश

काठमाडौ २५ असार
नेपालको पर्यटन, वैदेशिक लगानी, आर्थिक कूटनीति तथा अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले मेक्सिकोमा आयोजित ‘Connect Nepal Through Investment and Tourism’ शीर्षकको विशेष अन्तर्राष्ट्रिय कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अमेरिकास्थित नेपाली राजदूतावास (मेक्सिकोका लागि समवर्ती मान्यता प्राप्त) को उपस्थितिमा सम्पन्न कार्यक्रममा करिब दुई सय जना कूटनीतिज्ञ, उद्योगी–व्यवसायी, लगानीकर्ता, शिक्षाविद्, पर्यटन विज्ञ, सरकारी प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाललाई दक्षिण एसियाको उदयमान लगानी गन्तव्य र विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपालमा रहेको जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि, उत्पादन, आतिथ्य तथा सेवा क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाबारे विस्तृत जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी विदेशी व्यवसायी तथा लगानीकर्ताहरूले नेपालसँग दीर्घकालीन सहकार्य र साझेदारीका अवसरप्रति चासो व्यक्त गरेका थिए।
कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा मेक्सिकोका लागि समवर्ती राजदूत शरदराज आरणले गरेका थिए। उनले नेपाल राजनीतिक रूपमा स्थिरता, आर्थिक सुधार र निजी क्षेत्रमैत्री वातावरणतर्फ अघि बढिरहेको उल्लेख गर्दै विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन सरकारले विभिन्न नीतिगत सुधार गरिरहेको बताए । नेपालमा ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीका लागि पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले मेक्सिको तथा ल्याटिन अमेरिकी मुलुकका व्यवसायी र लगानीकर्तालाई नेपालसँग सहकार्य गर्न आग्रह गरे ।
कार्यक्रममा मेक्सिकोको मिचोआकान राज्यस्थित जिटाकुआरो नगरपालिकाका मेयर जुआन एन्टोनियो इक्स्टलाहुआक ओरिहुएला विशेष अतिथिका रूपमा सहभागी भएका थिए । उनले नेपाल र मेक्सिकोबीचको सम्बन्धलाई पर्यटन, व्यापार, शिक्षा, संस्कृति र स्थानीय सरकारबीचको सहकार्यमार्फत थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे । उनले यस्ता कार्यक्रमले दुई देशका निजी क्षेत्र, पर्यटन उद्योग र स्थानीय सरकारबीच नयाँ साझेदारीको ढोका खोल्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल–मेक्सिको सम्बन्ध, अन्तर्राष्ट्रिय सहकार्य, पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै कार्यवाहक राजदूत शरदराज आरण तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी लाई मानार्थ विद्यावारिधि (Honorary Doctorate Recognition) प्रदान गरिएको थियो ।
लामो समयदेखि प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, परोपकारी गतिविधि तथा विदेशी लगानी आकर्षित गर्ने अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका अस्ट्रेलिया र नेपालका सफल ब्याबसायी एबम सामाजिक अभियन्ता गणेश केसीको योगदानको विशेष प्रशंसा कार्यक्रममा गरिएको थियो। सम्मानपछि केसिले विश्वभर फैलिएका नेपालीहरू नेपालको आर्थिक विकास, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय छवि निर्माणका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै सबैलाई मातृभूमिको समृद्धिका लागि एकजुट हुन आह्वान गरे ।
कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, हिमशृङ्खला, धार्मिक तथा सांस्कृतिक सम्पदा, साहसिक पर्यटन, जैविक विविधता र लगानीका अवसरलाई समेटिएको विशेष प्रवर्द्धनात्मक भिडियो प्रदर्शन गरिएको थियो। नेपाल भ्रमण गरिसकेका मेक्सिकन एभरेष्ट आरोही तथा पर्यटकहरूले आफ्ना अनुभव सुनाउँदै नेपालको आतिथ्यता, संस्कृति र प्राकृतिक सम्पदाको खुलेर प्रशंसा गरेका थिए।
त्यसैगरी अन्तरक्रियात्मक प्रश्नोत्तर, व्यापार तथा लगानीसम्बन्धी छलफल र व्यवसायिक नेटवर्किङ सत्रले नेपाल र मेक्सिकोका सरकारी तथा निजी क्षेत्रबीच सहकार्य विस्तारका नयाँ सम्भावनामाथि गहन संवाद भएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रमको मुख्य संयोजन इन्द्र कट्टेलले गरेका थिए । उनको नेतृत्वमा सम्पन्न कार्यक्रमले नेपाललाई मेक्सिको मात्र होइन, समग्र ल्याटिन अमेरिकी क्षेत्रमा पर्यटन, व्यापार, लगानी तथा आर्थिक कूटनीति विस्तार गर्ने प्रभावकारी मञ्च प्रदान गरेको सहभागीहरूले बताएका छन्।
नेपालले पछिल्ला वर्षहरूमा आर्थिक कूटनीति, पर्यटन प्रवर्द्धन र वैदेशिक लगानी आकर्षित गर्ने अभियानलाई तीव्रता दिइरहेका बेला मेक्सिको सिटीमा सम्पन्न यो कार्यक्रमलाई त्यस अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सहभागीहरूको विश्वास छ कि यस्ता कार्यक्रमले नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास अझ बलियो बनाउँदै विदेशी लगानी, पर्यटन आगमन तथा द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारमा दीर्घकालीन सकारात्मक योगदान पुर्याउनेछन्।






