गरिबको चमेली बोलिदिने कोही छैन ?: डा.विजय दत्त 

गरिबको चमेली बोलिदिने कोही छैन ?: डा.विजय दत्त 

छौंड़ा मालिक बुढ़ देवान

मामिला उलटे साँझ बिहान !

 

नेपाली लोकचेतनामा भिजेको यो मार्मिक गीतको हरफले सधैँ समाजको पिँधमा रहेका मानिसहरूको निरीहता र उनीहरूको आवाज सुनिदिने कोही नभएको रिक्ततालाई चित्रण गरेको छ । इतिहासदेखि वर्तमानसम्म व्यवस्था फेरिए, शासकका अनुहार फेरिए, तर एउटा क्रूर सत्य जस्ताको तस्तै रहे । निमुखा, गरिब र श्रमजीवी वर्गका लागि यो राज्य सधैँ सबलहरूका अगाडि लाचार र गरिब- निर्धाहरूका अगाडि निरंकुश बनिरहे । ‘छौंड़ा मालिक बुढ़ देवान’ अर्थात् अपरिपक्व, अदूरदर्शी र संवेदनहीन शासकहरू र स्वार्थी सल्लाहकारहरूको घेराबन्दीमा परेको सत्ताले गर्दा यहाँ न्याय र नियमहरू बिहान-बेलुका नै उल्टिइरहन्छन्। कमजोरहरू झनझन् अन्यायको दलदलमा भासिँदै जान्छन् भने शक्तिशालीहरू त्यही दलदलमाथि आफ्नो महल ठड्याउँछन् र अय्यासी बनेका हुन्छन ।

 

तीन बर्ष पहिले नयाँ बानेश्वरको संसद भवन अगाडि तत्कालीन प्रधानमन्त्री हिडिरहेकै बेलामा प्रेम प्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्कि आगो लगाए ।

यसैगरि, २०८३ आषाढ २५ गते विहिवार त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि नै मुगुका पच्चीस बर्षिय युवाले शरिरमा पेट्रोल खन्याएर आगो लगाए र असार २६ गते मृत्युवरण गरे । यसरी मुलुकभरि त कतिले आत्मदाह गरे त्यो चर्चापरिचर्चाको विषय नै बनेन । यी दुबै आत्मदाह राज्यले गरेको दिएको चरम मानसिक पीडा नै हो ।

आत्मदाहको मनोविज्ञान: जब प्रणाली नै डिप्रेसनको कारक बन्छ

मनोविज्ञानको दृष्टिकोणबाट हेर्दा, आत्मदाह (Self-immolation) केवल एक आकस्मिक आवेग वा आत्महत्या मात्र होइन। यो त चरम निराशा, असहायपन र राज्यको क्रूर असंवेदनशीलता विरुद्धको एउटा भयानक राजनीतिक र सामाजिक विद्रोह हो। फ्रान्सेली समाजशास्त्री एमाइल दुर्खिमले आत्महत्याका प्रकारहरूमध्ये ‘अराजक आत्महत्या’ (Anomic Suicide) को व्याख्या गरेका छन्, जुन तब घट्छ जब समाज र राज्यका नियमहरूले व्यक्तिलाई संरक्षण दिनुको सट्टा झन्झन् अन्योल र मानसिक तनावको गहिरो खाडलमा धकेल्छन्।

 

जब एउटा नागरिकले देशको अर्थतन्त्र, बजार, न्याय प्रणाली र रोजगारीका सबै ढोकाहरू आफ्ना लागि बन्द देख्छ, तब उसको मानसपटलमा ‘सिकिएको असहायपन’ (Learned Helplessness) को स्थिति सिर्जना हुन्छ। प्रेम प्रसाद आचार्यले राज्यका नीति, कर प्रणाली र बिचौलिया संयन्त्रका कारण उद्यम गर्दागर्दै थाकेर, सम्भव भएसम्मका सबै ढोका ढक्ढकाएर हार्नुपरेको थियो। त्यस्तै, राहदानी विभागको अगाडि मुगुका २५ वर्षीय युवाले गरेको आत्मदाह त झन् यो देशका युवाहरूको सामूहिक नियतिको एउटा प्रतिनिधि र बीभत्स दृश्य हुन । महानगरीय प्रहरीको कठोरता र असभ्यता !!

आफ्नै देशमा श्रमको मूल्य नपाएर, बाँच्ने न्यूनतम आधार समेत गुमाएर, खाडी वा मलेसिया मरुभूमिमा पसिना बगाउन एउटा राहदानी लिन आउँदा समेत प्रशासनिक झन्झट, ढिलासुस्ती र बिचौलियाको सास्ती भोग्नुपर्दा उत्पन्न हुने मानसिक पीडा कति कल्पनातित होला त ?

 

मानसिक स्वास्थ्यका दृष्टिले यी घटनाहरू व्यक्तिभित्रको ‘निजी डिप्रेसन’ होइनन्, बरु राज्यले नै योजनाबद्ध रूपमा नागरिकको दिमागमा थोपरिएको ‘प्रणालीगत डिप्रेसन’ (Systemic Depression) हुन्। जब एउटा नागरिकले आफ्नो अस्तित्वको अर्थ र बाँच्ने आधार कतै देख्दैन, र राज्यले आफ्ना पीडा कहिल्यै सुन्दैन भन्ने निष्कर्षमा पुग्छ, तब उसले आफ्नो शरीरलाई नै आगोको ज्वालामा होमेर अन्तिम र सबैभन्दा विष्फोटक विद्रोह गर्छ। यो आफ्नो जीवन समाप्त गर्ने चाहना होइन, बरु यो बहिरो राज्यको कान खोल्नका लागि गरिएको आफ्नै रगतको क्रन्दन हुन ।

सत्ताको चरित्र: संवेदनहीनता, बिचौलियातन्त्र र संरचनात्मक हिंसा

यी आत्मदाहका घटनाहरूले वर्तमान नेपाली सत्ता र व्यवस्थाको वास्तविक चरित्रलाई पूर्ण रूपमा उदांगो पारेका छन्। आजको सत्ता लोकतान्त्रिक भनिए तापनि यसको अन्तर्य सामन्ती र नवउदारवादी क्रूरताको कुरुप मिश्रण हो। सत्तामा बस्नेहरूका लागि सिंहदरबार र बालुवाटार केवल सत्ता जोगाउने र ढाल्ने गणितीय खेलमैदान मात्र बनेका छन्। उनीहरूलाई राहदानी विभागको लाइनमा उभिएका भोका पेटहरू होस वा राइडर्सको पार्किङ स्थल वा ऋणको पासोमा परेका उद्यमीहरूको चित्कार सुन्ने फुर्सद नै छैन।

सत्ताको चरित्रलाई विश्लेषण गर्दा -आजको राज्य संयन्त्र इमानदार श्रमजीवी वा साना उद्यमीको पक्षमा छैन। यहाँ हरेक क्षेत्रमा बिचौलिया र दलालहरूको जगजगी छ। प्रेम प्रसाद आचार्यले उठाएका २५ बुँदे मागहरूले बजारमा कसरी ठूला घराना र बिचौलियाले साना व्यवसायीलाई निचोर्छन् भन्ने तथ्य स्पष्ट पारेको थियो। राहदानी विभागको अगाडि राइडर्स पार्किङ कता छ ? वा उपत्यका मै कतै छ त ? आखिरमा राइडर्स कहाँ रोक्ने ? को गरिब चमेलीको लागि बोलिदिने त ?

संरचनात्मक हिंसा (Structural Violence): समाजशास्त्री जोहान गाल्टुङले ‘संरचनात्मक हिंसा’ को अवधारणा अघि सारेका छन्, जहाँ कुनै भौतिक हतियार प्रयोग नगरिए पनि राज्यको नीति, कानुन र प्रशासनिक ढिलासुस्तीका कारण मानिसहरू बिस्तारै मानसिक र शारीरिक रूपमा मर्दै जान्छन्। मुगुका युवाको मृत्युवरण र प्रेम प्रसादको आत्मदाह यही संरचनात्मक हिंसाको प्रत्यक्ष परिणाम हो। राज्यले सिधै गोली नहाने पनि, नागरिकलाई बाँच्ने अधिकार र न्यूनतम मानवीय सम्मानबाट बञ्चित गरेर मर्न बाध्य पार्नु राज्यद्वारा गरिएको अदृश्य हत्या नै हुन ।

घटनाको सामान्यीकरण र बिर्सने संस्कृति: सत्ताको अर्को डरलाग्दो चरित्र भनेको घटनाप्रति क्षणिक गोहीको आँसु बगाउनु र केही समयपछि त्यसलाई पूर्ण रूपमा बिर्सिनु हो। प्रेम प्रसादको आत्मदाह पछि छानबिन समिति बन्यो, प्रतिवेदन बुझाइयो, तर ती प्रतिवेदनहरू सिंहदरबारका दराजमा थन्किए। संरचनामा कुनै परिवर्तन आएन, जसको परिणाम स्वरूप २०८३ सालमा फेरि अर्का युवाले त्रिपुरेश्वरमा त्यसैगरी आगो लगाउनुपर्‍यो। मोफसल र गाउँघरमा कतिले चरम गरिबी र मानसिक तनावका कारण हरेक दिन ज्यान गुमाइरहेका छन्, तर ती घटनाहरू सत्ताको ‘न्युज फिड’ र चर्चाको विषय नै बन्दैनन्।

निष्कर्ष: अबको बाटो कुन ?

जब राष्ट्रको युवा शक्ति र देशका मेरुदण्ड मानिने नागरिकहरू संसद् भवन र राहदानी विभाग जस्ता राज्यका मुख्य केन्द्रहरूका अगाडि आफ्नो शरीरमा आगो लगाउन विवश हुन्छन्, तब त्यो राज्य नैतिक रूपमा टाट पल्टिएको प्रमाणित हुन्छ। *’गरिबको चमेली बोलिदिने कोही छैन’* भन्ने यो निराशाजनक अवस्थालाई चिर्न अब केवल सत्ताको अनुहार फेरेर मात्र पुग्दैन, सत्ताको मूल चरित्र र चिन्तन नै फेरिनु आवश्यक छ।

छौंड़ा मालिक बुढ़ देवान”को यो विसंगतपूर्ण चक्रलाई नतोडेसम्म, र राज्यका नीतिहरू श्रमिक र सर्वसाधारणमुखी नभएसम्म यस्ता क्रूर र मानसिक पीडादायी घटनाहरू दोहोरिइरहनेछन्। राज्यले नागरिकलाई केवल कर तिर्ने मेसिन वा रेमिट्यान्स पठाउने साधन मात्र ठान्न छोड्नुपर्छ। जबसम्म राज्यले प्रत्येक नागरिकको न्यूनतम बाँच्ने अधिकार, रोजगारी, आत्मसम्मान र मानसिक स्वास्थ्यको ग्यारेन्टी गर्दैन, तबसम्म यी आत्मदाहका आगोका लप्काहरूले बालुवाटार र सिंहदरबारको जगलाई पोलिरहनेछन्। अब नागरिक समाज, बुद्धिजीवी र आम जनता आफैँ ब्युँझिएर संवेदनहीन सत्तालाई जवाफदेही बनाउन तर्फ प्रयास गर्ने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।