रौतहटको कटहरियामा २० वर्षीया विवाहित महिला झुण्डिएको अवस्थामा मृत फेला
रौतहटको कटहरियामा २० वर्षीया विवाहित महिला झुण्डिएको अवस्थामा मृत फेला

रौतहट २७ असार
रौतहटको कटहरिया नगरपालिका–३ बिर्ती बडेर्वामा एक २० वर्षीया विवाहित महिला आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार बिहान करिब ७:३० बजे स्थानीय निरज कुमार साह सोनारकी श्रीमती निशा कुमारी साह सोनार आफ्नै सुत्ने कोठामा साडीको पासो लगाई बाँसको कोरोमा झुण्डिएको अवस्थामा रहेको सूचना इलाका प्रहरी कार्यालय कटहरियामा प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक लालबाबु सहनीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी टोली घटनास्थल पुगेर घटनास्थल सुरक्षित राखेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा मुचुल्का टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय कटहरियाबाट करिब १.५ किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ।दिउँसो करिब १२ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जिल्ला प्रादेशिक अस्पताल, गौर पठाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।






