११५औँ आईसीसी बैठकका निर्णयप्रति ‘नोट अफ डिसेन्ट’, विधि, पारदर्शिता र विधानको पक्षमा उभिए दाहाल

११५औँ आईसीसी बैठकका निर्णयप्रति 'नोट अफ डिसेन्ट', विधि, पारदर्शिता र विधानको पक्षमा उभिए दाहाल

काठमाडौं १ साउन 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष लोकप्रसाद दाहालले संघको ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) बैठकसँग सम्बन्धित केही निर्णय तथा त्यसपछिका प्रक्रियाप्रति औपचारिक असहमति जनाउँदै सचिवालयमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन । उनले विधि, विधान, संस्थागत प्रणाली र लोकतान्त्रिक मूल्य–मान्यताप्रति आफ्नो अटल प्रतिबद्धता जनाउँदै इमेलमार्फत सचिवालयमा असहमतिको पत्र पठाएका हुन्।

बेल्जियम र नेपालका सफल व्यवसायीका रूपमा परिचित सामाजिक अभियन्ता दाहाल एनआरएनएको लामो संस्थागत यात्रामा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका नेतृत्वकर्ता हुन्। स्पष्ट विचार, संस्थागत अनुशासन र विधिको पक्षमा निर्भीक रूपमा आफ्नो धारणा राख्ने नेताका रूपमा चिनिने दाहाल हाल एनआरएनएको अन्तर्राष्ट्रिय उपाध्यक्षको जिम्मेवारीमा छन्।

दाहालले आफ्नो असहमतिपत्रमा एनआरएनए कुनै व्यक्ति वा समूहको संस्था नभई विश्वभर रहेका गैरआवासीय नेपालीहरूको साझा धरोहर भएकाले संस्थाका प्रत्येक निर्णय विधिसम्मत, पारदर्शी, सहभागितामूलक र सहमतिमा आधारित हुनुपर्ने उल्लेख गरेका छन्। यस्ता आधारहरूबाट मात्रै संस्थाको विश्वसनीयता, एकता र लोकतान्त्रिक संस्कृतिलाई थप सुदृढ बनाउन सकिने उनको भनाइ छ।

उनले ‘एकताको महाधिवेशन’ले अघि सारेको मूल भावना संवाद, सहकार्य, पारस्परिक सम्मान र संस्थागत प्रक्रियाप्रतिको प्रतिबद्धता रहेको स्मरण गराउँदै पछिल्ला केही निर्णय र प्रक्रियाले स्वाभाविक रूपमा सदस्यहरूमा जिज्ञासा र चासो उत्पन्न गरेको बताएका छन्। ती विषयलाई खुला संवाद र संस्थागत छलफलमार्फत समाधान गर्नु नै अहिलेको आवश्यकता भएको उनको धारणा छ।

दाहालले विशेषगरी विधानसँग सम्बन्धित विषय, महत्वपूर्ण नियुक्ति प्रक्रिया तथा संस्थागत निर्णयहरू पर्याप्त परामर्श, स्पष्टता र पारदर्शितासहित अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। सबै पक्षको सहभागिता र संस्थागत सहमतिलाई प्राथमिकता दिइए मात्रै सदस्यहरूको विश्वास थप मजबुत बन्ने उनको विश्वास छ।

उनले संघको वर्तमान अवस्थाको समग्र समीक्षा गर्न, संस्थागत एकतालाई थप बलियो बनाउन तथा गैरआवासीय नेपाली नागरिकतालगायत साझा एजेन्डामा गम्भीर छलफल गर्न यथाशीघ्र अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को आधिकारिक बैठक बोलाउन आग्रह गरेका छन्।

दाहालले मतभेदलाई दबाएर होइन, संवादमार्फत समाधान गर्न सक्ने संस्थामात्र दीर्घकालीन रूपमा बलियो बन्ने उल्लेख गर्दै समयमै रचनात्मक संवाद, पारदर्शिता र सहकार्यलाई प्राथमिकता दिन सके एनआरएनए अझ विश्वसनीय, सशक्त र एकताबद्ध संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

“संस्था व्यक्तिभन्दा ठूलो हुन्छ, विधि व्यक्तिभन्दा माथि हुन्छ, र एकता सबैको साझा जिम्मेवारी हो,” दाहालले आफ्नो नोट अफ डिसेन्टमा उल्लेख गरेका छन्। संस्थाको हित, विधि र लोकतान्त्रिक संस्कृतिको संरक्षणका लागि आफ्नो रचनात्मक खबरदारी र प्रतिबद्धता निरन्तर रहने पनि उनले स्पष्ट पारेका छन्।

एनआरएनएको नेतृत्व तहबाट औपचारिक रूपमा आएको यो ‘नोट अफ डिसेन्ट’लाई संघभित्र विधि, पारदर्शिता, संस्थागत सुशासन र लोकतान्त्रिक अभ्यासबारे उठेको महत्वपूर्ण आवाजका रूपमा हेरिएको छ। विशेषगरी एकताको महाधिवेशनपछि संस्थालाई अझ बलियो, विधिसम्मत र सहमतिमा आधारित ढंगले अघि बढाउनुपर्ने बहसलाई दाहालको यो कदमले थप गम्भीर बनाएको विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।