राजपुरमा शिलान्यास भएको चार वर्षपछि पनि अधुरो सडक, कार्य अघि बढाउन सार्वजनिक अपिल

राजपुरमा शिलान्यास भएको चार वर्षपछि पनि अधुरो सडक, कार्य अघि बढाउन सार्वजनिक अपिल

प्रेमचन्द्र झा / रौतहट ४ साउन

राजपुर नगरपालिकाको दमारदेखि भिल्लाको सेलरसम्मको सडक स्तरोन्नति लगायतका विकास आयोजनाको निर्माण कार्य लामो समयसम्म अलपत्र परेको भन्दै नगरप्रमुख पदका भावी उम्मेदवार शाह नवाज आलमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सार्वजनिक अपिल जारी गरेका छन्।

उनले जारी गरेको अपिलमा सघन सहरी तथा भवन निर्माण आयोजना, पर्सा–वीरगञ्जमार्फत सञ्चालन हुने दमार–भिल्ला सेलर सडक स्तरोन्नति, पानी टंकी हाटबजार निर्माण तथा पोखरी सौन्दर्यीकरण लगायतका योजनाको शिलान्यास २०७९ चैत ९ गते नेपाल सरकार, सहरी विकास मन्त्रालयका तत्कालीन सचिवबाट राजपुर नगरपालिकाका नगरप्रमुखको उपस्थितिमा गरिएको स्मरण गराएका छन्।

तर शिलान्यास भएको लामो समय बितिसक्दा पनि आवश्यक समन्वय, अनुगमन र निर्माण कार्यले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ। निर्माण सम्पन्न नहुँदा सडक अत्यन्त जीर्ण बनेको र स्थानीयवासीले दैनिक आवतजावतमा कठिनाइ भोगिरहेको अपिलमा उल्लेख गरिएको छ।

आलमले राजपुर नगरपालिका र सघन सहरी तथा भवन निर्माण आयोजना, पर्सा–वीरगञ्जबीच प्रभावकारी समन्वय गरी निर्माण कार्य तत्काल अघि बढाउन आग्रह गरेका छन्। साथै वर्षायामलाई मध्यनजर गर्दै सडकको तत्काल मर्मत, निर्माण तथा पानी निकासको उचित व्यवस्था मिलाई राजपुरवासीलाई सुरक्षित, सहज र व्यवस्थित आवतजावतको वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायसँग जोडदार माग गरेका छन्।

उनले “जनताको सुविधा नै पहिलो प्राथमिकता हो” भन्दै विकास आयोजनालाई राजनीतिक विषयभन्दा माथि उठाएर जनहितका लागि समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

स्थानीयवासीले पनि लामो समयदेखि अधुरो रहेको सडक तथा अन्य पूर्वाधार आयोजनाको निर्माण शीघ्र सम्पन्न गरी सर्वसाधारणले भोग्दै आएको सास्तीको अन्त्य गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने माग गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।