अवैध साल काठ चिरान गर्दै गरेका तस्कर फरार, ३०.२४ क्युबिक फिट काठ बरामद
अवैध साल काठ चिरान गर्दै गरेका तस्कर फरार, ३०.२४ क्युबिक फिट काठ बरामद

रौतहट ६ साउन
रौतहटस्थित गैडाटार सव-डिभिजन वन कार्यालयको वन गस्ती टोलीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको गस्तीका क्रममा अवैध रूपमा साल जातको रुख कटान गरी चिरान भइरहेको काठ बरामद गरेको छ।
डिभिजन वन कार्यालय, रौतहटका अनुसार आज मिति २०८३ साउन ६ गते जिल्ला रौतहटको चन्द्रपुर नगरपालिका–२, हिलेखोलामाथिको वन क्षेत्रमा गस्ती गर्ने क्रममा केही व्यक्तिहरूले सुकेको साल जातको रुख अवैध रूपमा काटी सोही स्थानमा चिरान गरिरहेका थिए। वन कर्मचारीहरूले चारैतर्फबाट घेरा हालेर पक्राउ गर्ने प्रयास गरे पनि तस्करहरू काठ छाडेर जंगलतर्फ फरार भएका थिए।
गस्ती टोलीले घटनास्थलबाट साल जातको गोलिया काठ ५ थान, जम्मा ३०.२४ क्युबिक फिट बरामद गरी आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, रौतहटमा ल्याएको जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको वन कार्यालयले जनाएको छ।
वन कार्यालयका अनुसार वन ऐन, २०७६ र वन नियमावली, २०७९ बमोजिम वन क्षेत्रभित्र अनुमति बिना रुख कटान, चिरान, ओसारपसार वा वन पैदावारको चोरी–निकासी कानुनविपरीतको कार्य हो। यस्ता कसुरमा संलग्न व्यक्तिलाई कसुरको प्रकृति अनुसार जरिवाना, वन पैदावार जफत तथा कैद सजाय समेत हुन सक्ने कानुनी व्यवस्था रहेको छ।
डिभिजन वन कार्यालय रौतहटले वन सम्पदाको संरक्षणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै अवैध कटानी, तस्करी वा वन विनाशसम्बन्धी कुनै पनि गतिविधिको जानकारी भए तत्काल वन कार्यालय वा सम्बन्धित सुरक्षा निकायलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।





