कुँवर,विदेशी उत्पादनको प्रवर्द्धनसँगै स्वदेशमै लगानी र औद्योगिक क्रान्तिको आह्वान

कुँवर,विदेशी उत्पादनको प्रवर्द्धनसँगै स्वदेशमै लगानी र औद्योगिक क्रान्तिको आह्वान

काठमाडौं ९ साउन

नेपालमा विदेशी उत्पादनको बजार विस्तार भइरहेका बेला विदेशी पूँजी, प्रविधि र ब्रान्डलाई नेपालमा भित्र्याउँदै स्वदेशमै उत्पादन र औद्योगिक विकासको आधार तयार गर्नुपर्ने बहस पनि तीव्र बन्दै गएको छ।

यही बहसलाई व्यवहारमै उतार्दै आएका नेपाली व्यवसायी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष बिनोद कुँवरले नेपालमा विदेशी ब्रान्डको प्रवर्द्धनसँगै स्वदेशी उत्पादन र औद्योगिक विकासलाई आफ्नो व्यवसायिक यात्राको महत्वपूर्ण लक्ष्य बनाएका छन्।

नेपालका लागि कोरियाली दूतावास र भाटभटेनी सुपरमार्केटको संयुक्त आयोजनामा कोरियाका लोकप्रिय ब्रान्डहरूको प्रवर्द्धनका लागि आयोजित विशेष कार्यक्रममा कुँवरको यही दृष्टिकोण स्पष्ट रूपमा देखियो।

कार्यक्रममा कोरियाका विश्वप्रसिद्ध तथा लोकप्रिय ब्रान्ड नोङ्सिम, लोट्टे, चोकोपाई, रेमेनलगायतका उत्पादनहरूको प्रवर्द्धन गरिएको थियो। कोरियाका लोकप्रिय ब्रान्डमध्ये अग्रणी मानिने यी उत्पादनहरू नेपाली उपभोक्तामाझ थप विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पाक थे योङ, कोरियाली दूतावासका प्रतिनिधि, विभिन्न कम्पनीका प्रतिनिधि, व्यवसायी तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमसँगै भाटभटेनी सुपरमार्केटका उपत्यकास्थित शाखाहरूमा कोरियाली उत्पादनहरूको १४ दिने विशेष प्रवर्द्धन अभियानसमेत सुरु गरिएको छ। अभियान अवधिमा कोरियाली उत्पादन खरिद गर्ने ग्राहकहरूलाई विशेष लक्की ड्रमार्फत आकर्षक उपहार जित्ने अवसर प्रदान गरिनेछ।

अभियान अवधिमा उत्पादन खरिद गर्ने ५० जना भाग्यशाली ग्राहकलाई कोरियाली राजदूतको विशेष उपस्थितिमा आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ।

कोरियाली उत्पादनहरूको नेपालमा आयात तथा प्रवर्द्धनको जिम्मेवारी बीजे इन्टरनेसनल कम्पनीले लिएको छ। उक्त कम्पनी बिनोद कर्पअन्तर्गत सञ्चालित कम्पनी हो।

तर, बिनोद कुँवरका लागि यो अभियान केवल कोरियाली उत्पादन नेपालमा बेच्ने व्यावसायिक गतिविधि मात्र होइन। यसले नेपाल र कोरियाबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने, विदेशी ब्रान्ड तथा प्रविधिलाई नेपालमा भित्र्याउने र अन्ततः स्वदेशमै उत्पादन तथा औद्योगिक गतिविधि विस्तार गर्ने उनको बृहत् योजनासँग जोडिएको छ।

‘आफू मात्र समृद्ध भएर केही हुँदैन,’ कुँवरले भने, ‘देश समृद्ध बनाउनुपर्छ। देशलाई समृद्ध बनाउने हो भने औद्योगिक क्रान्ति आवश्यक छ। देश बनेपछि हामी सबै बन्छौँ।’

विदेशमा लामो समय व्यवसाय गरेर सफलता हासिल गरेका कुँवरले विदेशमा रहेका नेपालीहरूलाई अब नेपालमा लगानी गर्न आग्रह गरे। उनका अनुसार विदेशमा रहेका नेपालीहरूसँग पूँजी मात्र होइन, अन्तर्राष्ट्रिय अनुभव, प्रविधि, व्यवस्थापन क्षमता र विश्व बजारसँगको सम्बन्ध पनि छ।

‘विदेशमा रहेका नेपालीहरूले अब केवल पैसा पठाउने मात्र होइन, नेपालमा लगानी गर्नुपर्छ,’ कुँवरले भने, ‘नेपालमा उद्योग खुल्नुपर्छ, उत्पादन बढ्नुपर्छ र रोजगारी सिर्जना हुनुपर्छ।’

नेपालमा लगानीको वातावरण विस्तार गर्न सरकार, निजी क्षेत्र र गैरआवासीय नेपालीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

पछिल्ला केही वर्षमा कुँवरले नेपालमा हाइड्रोपावर, बैंकिङ, कस्मेटिक्सलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका छन्। नेपाल र कोरियाबीच व्यापारिक सम्बन्ध विस्तारमा सक्रिय रहेका उनले कोरियाली उत्पादन तथा प्रविधिलाई नेपालमा ल्याउने मात्र होइन, नेपालमै उत्पादन गर्ने दिशामा समेत कदम अघि बढाएका छन्।

उनकै पहलमा नेपालमा ओरा कस्मेटिक्स तथा कोरियाली सोजुसमेत उत्पादन हुँदै आएको छ। यसले नेपाललाई विदेशी उत्पादनको उपभोक्ता बजार मात्र नभई विदेशी प्रविधि र ब्रान्डलाई स्वदेशी उत्पादनसँग जोड्ने सम्भावना भएको मुलुकका रूपमा स्थापित गर्न सकिने सम्भावना देखाएको छ।

‘नेपालमा सम्भावना छैन भन्ने होइन, सम्भावनालाई पहिचान गरेर लगानी गर्ने साहस चाहिएको हो,’ कुँवरले भने, ‘विदेशमा रहेका नेपालीहरूले स्वदेशमा लगानी गरे भने नेपालमा रोजगारी सिर्जना हुन्छ, उत्पादन बढ्छ र अर्थतन्त्र बलियो हुन्छ।’

कोरियाली ब्रान्डको प्रवर्द्धनका लागि सुरु गरिएको १४ दिने अभियानले नेपाली उपभोक्तालाई विश्व बजारमा स्थापित गुणस्तरीय उत्पादनसँग जोड्नेछ। साथै, नेपाल–कोरिया व्यापारिक सम्बन्ध विस्तार तथा नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थितिलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।

तर, यस अभियानको अर्को महत्वपूर्ण पक्ष भनेको नेपालमा विदेशी उत्पादन भित्र्याउने मात्र होइन, विदेशी अनुभव र पूँजीलाई नेपालमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने दीर्घकालीन सोच हो।

बिनोद कुँवरको व्यवसायिक यात्राले यही सन्देश दिन खोजेको छ—विदेशमा सफल भएका नेपालीहरू नेपाल फर्किएर लगानी गर्ने हो भने नेपाल केवल उपभोग गर्ने बजार होइन, उत्पादन गर्ने औद्योगिक राष्ट्र बन्न सक्छ।

उनको दृष्टिमा समृद्ध नेपाल कुनै राजनीतिक नारामात्र होइन, लगानी, उद्योग, उत्पादन र रोजगारीको निरन्तर अभियान हो। त्यसैले विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्न गरिएको उनको आह्वानलाई केवल व्यवसायीको अपिलका रूपमा नभई समृद्ध नेपालको आर्थिक अभियानसँग जोडिएको सन्देशका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।