अन्तर विद्यालय हिज्जे, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता सम्पन्न

अन्तर विद्यालय हिज्जे, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता सम्पन्न

वीरगञ्ज ६ भदौ 

क्रिएटिभ विद्यालय समूहको आयोजनामा अन्तर विद्यालय हिज्जे, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा भाषिक दक्षता, सिर्जनात्मक क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

शनिबार आयोजित कार्यक्रम ओसिस माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक इन्द्रदेव शाहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको उद्घोषण अल्फा टेकका डाइरेक्टर रामसुन्दर चौधरीले गरेका थिए।

हिज्जे प्रतियोगितामा ओसिस माध्यमिक विद्यालयका आइसा पटेल (कक्षा ४), अनुराग पटेल (कक्षा ४) र निरज चौधरी (कक्षा ५) ले प्रथम स्थान हासिल गरे। त्यस्तै, ग्रीनल्याण्ड माध्यमिक विद्यालयका आसिया खातुन (कक्षा ५), खुसी खातुन (कक्षा ५) र समर अजिज (कक्षा ५) ले दोस्रो तथा विभूति एकेडेमीका सृष्टि शाह (कक्षा ५), अनन्या गुप्ता (कक्षा ४) र अर्जुन सर्राफ (कक्षा ५) ले तेस्रो स्थान प्राप्त गरे।

त्यसैगरी, निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताको निर्णायकका रूपमा हरि खेतान क्याम्पसका विभागीय सदस्य डा. निरज चौधरी रहेका थिए।

निबन्ध प्रतियोगितामा ग्रीनल्याण्ड माध्यमिक विद्यालयका कक्षा १० का आशिफ मलिक प्रथम भए। विभूति एकेडेमीकी कक्षा ८ की रागनी पाल दोस्रो तथा सोही विद्यालयका कक्षा १० का अङ्कित गुप्ता तेस्रो भए।

वक्तृत्वकला प्रतियोगितामा विभूति एकेडेमीकी कक्षा ७ की नाभिया गुप्ता प्रथम, ग्रीनल्याण्ड माध्यमिक विद्यालयका कक्षा ७ का आराध्य गुप्ता दोस्रो तथा कक्षा ६ की आल्फा खातुन तेस्रो स्थान हासिल गर्न सफल भए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रमका अतिथिहरूले सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा ग्रीनल्याण्ड माध्यमिक विद्यालयका डाइरेक्टर उपेन्द्र पण्डितले उपस्थित विद्यार्थी, शिक्षक तथा अतिथिहरूलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

आयोजकका अनुसार यस्ता अन्तर विद्यालयस्तरीय प्रतियोगिताले विद्यार्थीहरूमा पाठ्यक्रममा आधारित ज्ञानसँगै शब्दज्ञान, शुद्ध लेखन, प्रस्तुति क्षमता, तार्किक अभिव्यक्ति, आत्मविश्वास र सिर्जनात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ। विद्यालयबीचको स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा पहिचान गरी थप मेहनत गर्न प्रेरित गर्ने आयोजकको विश्वास छ।

कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रदर्शनका लागि अवसर प्रदान गर्नुका साथै विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वबीच आपसी सम्बन्ध र सहकार्य विस्तार गर्ने वातावरणसमेत सिर्जना गरेको आयोजकले जनाएको छ।

शैक्षिक क्षेत्रमा प्रतिस्पर्धात्मक गतिविधिलाई निरन्तरता दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पु¥याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।