देश रोएका बेला प्रवासबाट आरके शर्माको २५ लाखको मलम
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा जुट्न विश्वभरका नेपालीलाई अपिल

काठमाडौँ १२ भदौ
मातृभूमि विपत्तिमा पर्दा भौगोलिक दूरीले जिम्मेवारी नरोकिने सन्देश दिँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढीपहिरो पीडितको राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
शर्माको नेतृत्वमा कतारस्थित पिजन इन्जिनियरिङ ग्रुपका तर्फबाट शुक्रबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो।
रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि शर्माले सहयोग घोषणा गरेका हुन्। उनले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
“यो सहयोग रकमको अंकभन्दा पनि मातृभूमि संकटमा पर्दा हामी जहाँ भए पनि देशकै साथमा छौँ भन्ने आत्मीय भावना र दायित्वको अभिव्यक्ति हो,” शर्माले भनेका छन्।
भूकम्प, महामारी तथा बाढी–पहिरोजस्ता राष्ट्रिय विपत्तिमा प्रवासमा रहेका नेपालीहरू एकजुट भएर मातृभूमिको पक्षमा उभिँदै आएको स्मरण गर्दै शर्माले अहिले पनि त्यही एकता र मानवीय भावना देखाउने समय आएको बताएका छन्।
उनले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा सरकारी–गैरसरकारी निकायप्रति सम्मान व्यक्त गर्दै विश्वभर रहेका नेपालीलाई आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न अपिल गरेका छन्।
शर्माले तत्कालीन राहतसँगै बाढी प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। सबै नेपालीले हातेमालो गरे पीडित परिवारलाई पुनः सामान्य जीवनमा फर्किन ठूलो हौसला र आशा मिल्ने उनको विश्वास छ।






