निर्देशक अनिल रुङ्गटाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे चेक, पुनर्निर्माणका लागि निर्माण सामग्रीमा छुट दिने प्रतिबद्धता
निर्देशक अनिल रुङ्गटाले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे चेक, पुनर्निर्माणका लागि निर्माण सामग्रीमा छुट दिने प्रतिबद्धता

काठमाडौं १७ भदौ
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि जगदम्बा इन्टरप्राइजेजले ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ प्रदान गरेको हो। जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्याउनुका साथै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा समेत योगदान पुर्याउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
जगदम्बा इन्टरप्राइजेजले आर्थिक सहयोगमा मात्रै सीमित नरही बाढी प्रभावित क्षेत्रमा हुने पुनर्स्थापना तथा पुनर्निर्माणका काममा आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्री छुट मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।
विपद्पछि क्षतिग्रस्त सडक, पुल, घर तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणमा निर्माण सामग्री आवश्यक पर्ने भएकाले कम्पनीको यो प्रतिबद्धताले पुनर्निर्माण अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको उक्त सहयोगले बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत पुग्ने विश्वास निर्देशक रुङ्गटाले व्यक्त गरे।
उनले प्राकृतिक विपद्का बेला निजी क्षेत्रले सरकारसँग हातेमालो गर्दै प्रभावित नागरिकको जीवन सहज बनाउन सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए। विपद् व्यवस्थापन केवल सरकारी निकायको जिम्मेवारी नभई निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकको समेत साझा दायित्व भएको उनको भनाइ छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि अहिले प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकता दिइएको छ।
विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार, निजी क्षेत्र र सामाजिक संघसंस्थाबीच समन्वय तथा सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।






