विपत्तिको चित्कारबीच गौर भन्सार प्रमुखको ‘गोवा सयर’ : दुई नायब सुब्बासहित चार सदस्यीय टोली भारतमा

विपत्तिको चित्कारबीच गौर भन्सार प्रमुखको ‘गोवा सयर’ : दुई नायब सुब्बासहित चार सदस्यीय टोली भारतमा

प्रेमचन्द्र झा / भदौ १८ रौतहट

देश बाढी, डुबान र प्राकृतिक विपत्तिको चपेटामा परेका बेला उद्धार र राहतका लागि राज्यका संयन्त्र परिचालन भइरहेका छन् । प्रभावित बस्तीमा नागरिकको चित्कार सुनिइरहेको छ—‘बचाऊ, बचाऊ !’ तर यही समयमा गौर भन्सार कार्यालयका प्रमुख विकास रजक भने भारतको गोवा भ्रमण सकेर बिहीबार नेपाल फर्किएको विषयले प्रश्न उब्जाएको छ।

रजक मात्रै होइन, उनको नेतृत्वमा गौर भन्सार कार्यालयका दुई नायब सुब्बासहित चार सदस्यीय टोली गोवा पुगेको स्रोतको दाबी छ। टोलीमा नायब सुब्बा विकास घिमिरे र जगदीश साह तथा रौतहट उद्योग वाणिज्य संघका एक जना प्रतिनिधि रहेको बताइएको छ।

स्रोतका अनुसार टोली भदौ १२ गते शुक्रबार भारतको गोवातर्फ प्रस्थान गरेको थियो। उनीहरू बिहीबार नेपाल फर्किएका हुन्। देश विपत्तिमा परेका बेला सरकारी कार्यालयका प्रमुखसहित कर्मचारीको यस्तो विदेश भ्रमणले उनीहरूको पदीय जिम्मेवारी र संवेदनशीलतामाथि प्रश्न उठाएको छ।

अझ भन्सारजस्तो राजस्व संकलनसँग प्रत्यक्ष जोडिएको संवेदनशील कार्यालयको नेतृत्वमा रहेका अधिकारी नै लामो बिदामा बसेर विदेश भ्रमणमा गएको विषयले थप चासो जन्माएको हो।
‘म भदौ ७ गतेदेखि नै बिदामा थिएँ’ गोवा भ्रमणबारे जिज्ञासा राख्दा भन्सार प्रमुख रजकले भ्रमण स्वीकार गरे। उनले आफू भदौ ७ गतेदेखि नै घरबिदामा रहेको बताए।

‘म भदौ ७ गतेदेखि नै बिदामा छु,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
तर प्रश्न यहीँबाट उठ्छ—देशमा विपत्ति परेपछि सरकारी कार्यालयका प्रमुखको भूमिका के हुन्छ ? व्यक्तिगत बिदा स्वीकृत भइसकेको अवस्थामा पनि सार्वजनिक जिम्मेवारीको संवेदनशीलता र परिस्थितिको गम्भीरतालाई हेरेर निर्णय लिनुपर्ने हो कि पूर्वस्वीकृत बिदाको आधारमा जिम्मेवारीबाट अलग बस्न मिल्छ ?

यही प्रश्नको जवाफ खोज्ने क्रममा भन्सार विभागका सूचना अधिकारी तथा निर्देशक किशोर बर्तौलासँग सम्पर्क गरिएको थियो।

उनलाई यस विषयमा पटक–पटक जिज्ञासा राख्दा उनले बिदामा रहेका कर्मचारीले के गर्छन् र कहाँ जान्छन् भन्ने विषयमा आफूले जवाफ नदिने बताए।
‘विदामा बसेका कर्मचारी के गर्छन्, कहाँ जान्छन् भन्ने विषयमा मैले जवाफ दिने यही हो,’ बर्तौलाको भनाइ थियो।

‘इन्डिया जानुभएको थाहा थियो, गोवा नै जानुहोला भन्ने लागेको थिएन’ गौर भन्सार कार्यालयका सूचना अधिकारी कमल नेपालीले भने दुई नायब सुब्बा भारत गएको आफूलाई जानकारी भए पनि उनीहरू गोवासम्म पुग्नेबारे आफूलाई जानकारी नभएको बताए।

‘जाँच्न भनेर सुब्बा साहेबहरू इन्डिया बिदा लिएर गएका थिए । गोवा नै जानुहुन्छ भन्ने मलाई लागेको थिएन,’ नेपालीले भने। उनका अनुसार भन्सार प्रमुख रजक पनि भ्रमण सकेर फर्किरहेको जानकारी आफूले पाएका छन्। कार्यालयका एक कर्मचारीले चिफ सर फर्किंदै हुनुहुन्छ भनेर जानकारी दिएको उनले बताए।

रजकलाई सम्पर्क गरी भ्रमणका विषयमा थप प्रतिक्रिया लिन खोज्दा भने कुराकानी हुन सकेन। नेपालीका अनुसार रजकको ह्वाट्सएपमा आफूले ‘नमस्कार’ लेखे पनि प्रतिक्रिया नआएको बताए।
विपत्तिमा सरकारी जिम्मेवारीमाथि प्रश्न नेपालमा विपद्का बेला सरकारी कर्मचारीको भूमिका अझ महत्वपूर्ण हुन्छ। विशेषगरी जिल्ला तहमा रहेका कार्यालय प्रमुखहरू स्थानीय प्रशासन, सुरक्षा निकाय तथा अन्य सरकारी संयन्त्रसँग समन्वय गरी सेवा प्रवाहमा सक्रिय हुनुपर्ने अपेक्षा गरिन्छ।

तर स्वीकृत बिदामा रहेका कर्मचारीको व्यक्तिगत भ्रमणलाई कानुनी रूपमा कसरी हेर्ने भन्ने प्रश्न अलग विषय हो। त्यसैले रजकको गोवा भ्रमण स्वयंमा कानुनविपरीत हो भन्ने निष्कर्षमा पुग्नुअघि उनको बिदा स्वीकृतिको अवस्था, भ्रमणको प्रकृति र त्यस अवधिमा कार्यालयको जिम्मेवारी कसरी व्यवस्थापन गरिएको थियो भन्ने तथ्य स्पष्ट हुन आवश्यक छ।

यद्यपि, देशका विभिन्न भागमा विपत्तिले नागरिकको जनजीवन अस्तव्यस्त बनाइरहेका बेला संवेदनशील सरकारी कार्यालयका प्रमुख विदेश भ्रमणमा रहेको घटनाले सार्वजनिक उत्तरदायित्व र नैतिक जिम्मेवारीको बहस भने जन्माएको छ।
भन्सार विभाग किन मौन ? गौर भन्सार कार्यालयका प्रमुखसहित कर्मचारीको गोवा भ्रमणबारे प्रश्न उठे पनि भन्सार विभागले हालसम्म यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन।

रजक भदौ ७ गतेदेखि बिदामा रहेको बताइरहेका छन्। यदि उनको बिदा विधिवत् स्वीकृत भएको हो भने त्यसको अभिलेख र बिदाको प्रकृति के थियो ? दुई नायब सुब्बाको भारत भ्रमणका लागि स्वीकृति कसले दिएको थियो ? उनीहरू सरकारी कामका लागि गएका थिए कि व्यक्तिगत प्रयोजनका लागि ? र, विपत्तिका बेला कार्यालयको नेतृत्व तथा सेवा प्रवाह कसरी व्यवस्थापन गरिएको थियो ? यी प्रश्नको जवाफ सम्बन्धित निकायबाट आउन बाँकी छ।

विपत्तिले नागरिकको घरआँगन बगाइरहेको बेला सरकारी संयन्त्रबाट एउटा शब्द सबैभन्दा बढी सुनिनुपर्ने हो—‘हामी यहाँ छौं।’ तर त्यही बेला जिम्मेवार पदमा रहेका अधिकारीको विदेश भ्रमण सार्वजनिक चासोको विषय बन्नुले राज्यका कर्मचारीको पदीय जिम्मेवारी र नागरिकप्रतिको उत्तरदायित्वबारे गम्भीर प्रश्न खडा गरेको छ।

अब प्रश्न गौर भन्सार प्रमुखको गोवा यात्रामा मात्र सीमित छैन । प्रश्न हो—विपत्तिको समयमा सार्वजनिक पदमा बसेको व्यक्तिको पहिलो जिम्मेवारी के हो ? व्यक्तिगत बिदा कि सार्वजनिक दायित्व ?
यसको स्पष्ट जवाफ सम्बन्धित कर्मचारीभन्दा बढी सम्बन्धित विभाग र सरकारबाट खोजिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।